खरसाङ: खरसाङ नगरपालिकाका अवकाशप्राप्त कर्मचारीहरूको संस्था खरसाङ म्युनिसिपल पेन्सनरर्स एसोसिएशनका सदस्यहरूले आफुहरूले भोगिरहेका विभिन्न समस्यालाई लिएर सभा सम्पन्न गरेको छ। यस सभामा एसोसिएशनका पदाधिकारी अनि सदस्यहरूको उपस्थितिमा आफ्ना समस्याबारे चर्चा परिचर्चा भएको छ। सभापछि पत्रकारहरुलाई जानकारी गराउँदै एसोसिएशनका अध्यक्ष-सुब्र रूम्बा, सचिव मनोजकुमार छेत्री अनि सह-सचिव – प्रितमकुमार छेत्रीले यस विषयमा जानकारी गराउँदै गत केही वर्षदेखि नगरपालिकाका कर्मचारीहरूको अवकाश ग्रहण गरेपछि पाउनु पर्ने रकममा अनियमितता रहेको बताएका छन्। उनीहरू अनुसार यस विषयमा एसोसिएशनले नगरपालिकाका वर्तमान बोर्ड-अफ एडमिन्सट्रेसनलाई नियमित पत्रचार गरेतापनि उनीहरूले पेन्सन सम्बन्धमा राखेका मांगहरूको कुनै पहल नभएको गुनासो रहेको छ। यसको साथै यस विषयमा उनीहरूले गत ८ मई २०२५ को दिन आफ्नो समस्याहरूबारे सम्बन्धित विभागमा पत्रचार गरेका थिए। कर्मचारीहरूको पेन्सन विषय समस्या समाधान नभएपछि एसोसिएशनले गणतान्त्रिक रूपमा यस विषयमा आन्दोलन गर्ने भएका छन् जसमा २५ मईको दिन खरसाङ नगरपालिका क्षेत्र अन्तर्गतका विभिन्न स्थानहरूमा पोस्टिरिङ कार्य गर्ने भएका छन्। त्यसरी नै २७ मईदेखि दिन बिराएर खरसाङ नगरपालिका कार्यालय अघि गेट मिटिङ अनि धर्ना-प्रदर्शन गर्ने भएका छन्। यी कार्यहरूबाट पनि खरसाङ नगरपालिकाका अवकाशप्राप्त कर्मचारीहरूको समस्या समाधान नभए यो भन्दा कठोर अन्दोलन गर्ने भएका छन्।