कपिलवस्तु: लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभाले प्रदेश अध्यक्ष सञ्जय गुरुङविरुद्ध लागेको अविश्वास प्रस्ताव पारित गरेको छ। गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि उनी पदमुक्त भएका छन्।
२०८१ चैत्र २२ गते (४ अप्रैल)संघका उपाध्यक्ष विनयराज भण्डारी प्रस्तावक बस्दै ३१ जना प्रतिनिधिले हस्ताक्षर गरेर गुरुङविरुद्ध अविश्वासको प्रस्ताव नेपाल क्रिकेट संघ (क्यान) मा पठाएका थिए। सदरमुकाम तौलिहवामा शनिबार सम्पन्न विशेष साधारणसभामा उपस्थित सबै ३८ जना प्रतिनिधिले गुरुङविरुद्ध अविश्वास प्रस्ताव पारित गरेका हुन्। अविश्वास प्रस्ताव पारित भएपछि उपाध्यक्ष विनयराज भण्डारी कार्यवाहक अध्यक्ष भएको नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदीप मजगैयाले बताए।
संघको विनियमावली, क्यानको पत्र र राष्ट्रिय खेलकुद परिषद्को पत्रअनुसार विशेष साधारणसभा भएको र जेठ ३१ गते पाल्पामा अर्को विशेष साधारणसभा बोलाएर नया नेतृत्वमा चयन गरिने कार्यवाहक अध्यक्ष भण्डारीले बताए। विशेष साधारणसभामा रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, पाल्पा र पश्चिम नवलपरासी ७ जिल्लका प्रतिनिधि सहभागी थिए।
विशेष साधारणसभामा लुम्बिनी प्रदेशका ४१ प्रतिनिधिमध्ये अविश्वा प्रस्ताव ल्याइएका अध्यक्ष सञ्जय गुरुङ उपस्थित थिएनन् । एकजनाको मृत्यु भएको र एकजना विदेश छन्।