खरसाङ: खरसाङको वार्ड नम्बर १९ स्थित क्याम्प साइडमा रहेको श्री श्री पाँच कन्या देवी मन्दिरमा आयोजित तीन दिवसीय माँ चण्डी यज्ञ पूजा अनुष्ठानको समापन भएको छ। क्याम्प साइड पूजा समितिको आयोजनामा गत १५ मईदेखि शुरु भएको यस पूजा अनुष्ठानको प्रमुख पुरोहित वेद प्रकाश शर्मा रहेका थिए। यस पूजा विषयमा पुरोहित वेद प्रकाश शर्माले यस पूजाको पहिलो दिन शैल्य पुत्रीको पूजा र चण्डी पाठको पूजा भएको र दोस्रो दिन ब्रम्हचारिणीको पूजा, चण्डीपाठ र आरती सम्पन्न भएको जानकारी गराएका छन्। उनले तेस्रो दिवसमा चन्द्र घण्टा माताको पूजा, कुमारी पूजा, कुमार पूजा, हवन र समापनको पूजा सम्पन्न भएको जानकारी गराएका छन्। यस पूजा विषयमा पूजा समितिको तर्फबाट अप्सरा चक्रवर्तीले यस पूजा अनुष्ठानलाई सफल पार्न सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेकी छन्।