डॉ.ओम प्रकाश यादव
बरफ भनेको जमेको अवस्थाको पानी हो। जुन सामान्यतया शून्य डिग्री सेल्सियस कम तापमानमा रहेको ठोस पदार्थ हुन्छ।
अर्कोतर्फ, आइसक्रिम डेरी उत्पादनको प्रयोग गरी बनाइएको हुन्छ। जसमा दूध, चिनी, क्रिम र विभिन्न स्वादहरू मिसाइएको हुन्छ।
आइसक्रिम पनि चिसो हुन्छ । यी दुवैको मुख्य विशेषता भनेको तिनीहरूको चिसो तापक्रम हो, जसले घाँटी र मुखको क्षेत्रमा तत्काल प्रभाव पार्न सक्छ।
किनकी, यस्ता चिसो पेयले घाँटीको मांसपेशी र रक्तनलीहरूलाई तत्काल प्रभाव पार्छ । घाँटीको तापक्रम अचानक घट्दा रक्तनलीहरू संकुचन हुन्छ, जसले असहजता, दुखाइ, वा सुन्निने हुनसक्छ।
चिसो र आइसक्रिममा भएको उच्च चिनीको मात्राले घाँटीमा म्यूकसको उत्पादनलाई बढाउन सक्छ, जसले खोकी वा घाँटीको समस्यालाई बढाउन सक्छ।
बरफ वा आइसक्रिम सफा र स्वच्छ नहुँदा त्यसमा ब्याक्टेरिया वा भाइरस हुन सक्छ, जसले घाँटीको संक्रमण निम्त्याउन सक्छ।
आइसक्रिममा प्रयोग हुने केही तत्वहरू, जस्तै दूध, चिनी, वा कृत्रिम स्वादहरू, केही व्यक्तिहरूमा एलर्जीको कारण बन्न सक्छ। यस्तो अवस्थामा, घाँटीमा चिलाउने, सुन्निने वा अन्य असहजता देखिन सक्छ। यस्ता लक्षणहरू चिसोसँग सम्बन्धित नभई आइसक्रिमको सामग्रीसँग सम्बन्धित हुन्छन्।
यो कहिलेकाहीँ खाँदा सामान्य प्रभाव देखाउँछ। पटक-पटक खाँदा भने टन्सिलाइटिस हुनसक्छ।
के सबैलाई उत्तिकै प्रभाव पार्छ?
सामान्य अवस्थामा चिसो खानेकुराले गम्भीर असर गर्दैन। यस्तो खाँदा बारम्बार घाँटीको समस्या भएमा चिकित्सकको सल्लाह लिनुपर्छ। कसैलाई भने चिसोको एलर्जी नै हुने हुँदा अलिकति खाए पनि स्वास्थ्य प्रभावित भइहाल्छ। चिसो खानेकुराहरूले सबैभन्दा बढी रोगप्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिलाई असर गर्छ।
त्यस्तै, बच्चाहरूको घाँटी संवेदनशील हुन्छ र उनीहरूले चिसो खानेकुरा धेरै खाएमा टन्सिलाइटिसको जोखिम हुन्छ। बिरामी, वृद्ध वा दीर्घरोगीहरूमा यसले समस्या गर्न सक्छ।टन्सिलाइटिस, फ्यारिन्जाइटिस, वा साइनुसाइटिस जस्ता बारम्बार हुने घाँटीको समस्या हुनेहरू पनि जोखिममा पर्छन्।
के कस्ता लक्षण देखिन्छ?
घाँटी दुख्ने, सुक्खा खोकी लाग्ने, बारम्बार चिसो सेवनले टन्सिल ग्रन्थ्री सुन्निएर थुक निल्न समस्या हुनसक्छ।
चिसोले ब्याक्टेरिया वा भाइरसको प्रभाव बढाउन सक्छ। चिसो खानेकुराप्रति संवेदनशीलताले घाँटीमा असर गर्छ।
त्यस्तै, एलर्जी गराउने तत्व त्यसमा छ भने हाँच्छयु आउने, नाक चिलाउने पानी बग्ने र नाक बन्द हुने। कसैको भने कानको झिल्लीमा असर गरी कान डम्म हुने र कान दुख्ने हुन सक्छ।
घाँटीमा समस्या भए तुरुन्तै कसरी राहत पाउने?
– हल्का तातोपानी वा मनतातो पानी सानोसानो घुट्कीमा पिउन सकिन्छ। यसले घाँटीको तापक्रम सन्तुलन गरी पोल्ने समस्या कम गर्छ।
– तातोपानीमा एक चिम्टी नुन हालेर कुल्ला गर्नाले पनि राहत मिल्छ। दिनमा २–३ पटक गर्न सकिन्छ।
– अदुवा, तुलसी वा मह मिसाएको हर्बल चिया पिउने। अदुवा र महले घाँटीको जलन र खोकी कम गर्छ।
– कालो मरिच र महको मिश्रण पनि प्रभावकारी हुन्छ। एक चम्चा महमा २ देखि ३ चिम्टी कालो मरिच मिसाएर खान सकिन्छ।
– भिटामिन सी युक्त खानेकुरा (कागती, सुन्तला, अमला) खान सकिन्छ। नियमित व्यायाम र सन्तुलित आहारले रोग प्रतिरोधी क्षमता बलियो हुन्छ, जसले घाँटीको संक्रमणसँग लड्न मद्दत गर्छ।
कुन अवस्थामा चिकित्सकलाई भेट्ने?
– घाँटीको दुखाइ २–३ दिनभन्दा बढी रहिरहेमा।
– उच्च ज्वरो आउने वा टन्सिलमा सेतो दाग देखिएमा।
– निल्न गाह्रो हुने वा सास फेर्न समस्या हुने भएमा।
– बारम्बार खोकी वा घाँटीमा कफ जम्ने भएमा।
सावधानी अपनाउनुपर्छ
– अत्याधिक चिसो खानेकुराको सेवनले घाँटीलाई हानि पुर्याउन सक्छ । त्यसैले, थोरै मात्रामा खानु उपयुक्त हुन्छ।
– बरफ वा आइसक्रिम सफा र स्वच्छ भएको सुनिश्चित गर्नुहोस्। विशेष गरी बाहिरको बरफ प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ।
– यदि तपाईंको घाँटी चिसोप्रति संवेदनशील छ भने, थोरै मात्रामा खाएर हेर्नु उचित हुन्छ।
– यदि तपाईंलाई घाँटीको समस्या छ वा आइसक्रिम खाँदा असहजता हुन्छ भने चिकित्सकसँग परामर्श गर्नुहोस्।