खरसाङ: आइसीडीएस प्रोजेक्ट अन्तर्गत खरसाङको सन्त मेरिज तीन ग्राम पञ्चायतका सम्पूर्ण आँगनबाड़ी कर्मचारीहरुद्वारा सम्बर्द्धना एवम् सुपोषण कार्यक्रम सम्पन्न गरियो। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)का महिला तथा बाल विकास विभागका कार्यकारिणी सभासद कल्पना प्रधानलाई आँगनबाड़ी कर्मचारीहरुद्वारा सम्बर्द्धना जनाइयो। क्षेत्रीय सुपरभाइजर ज्योति राईको अध्यक्षतामा सम्पन्न समारोहको सञ्चालन मान्ती सुनारले गरेकी थिइन् भने समारोहको मुख्य अतिथिको रूपमा कार्यकारी सभासद कल्पना प्रधान अनि विशिष्ट अतिथिको रूपमा सेमसन तामाङ-खरसाङ आसीडीएस अधिकारी उपस्थित रहेका थिए। कार्यक्रममा स्वागत सम्बोधन दिलकुमारी शर्माले राखेकी थिइन्। खरसाङको गाड़ीधुरा सार्वजनिक भवनमा सम्पन्न समारोहमा पोषण विषय बबिता लामाले आफ्नो वार्ता प्रस्तुत गरिन्।

यसै अवधि जीटीए चुनाउमा पंखाबारी-अम्बटे-लंगभ्यू समष्टिबाट विजयी प्राप्त गरेकी सभासद कल्पना प्रधानलाई आँगनवाड़ी कर्मचारीहरूको पक्षबाट सम्बर्द्धना जनाइयो। उनलाई सम्बर्द्धना पत्र प्रदान गरेर अनि शल ओड़ाएर सम्बर्द्धना जनाइयो। उनलाई प्रदान गरिएको सम्बर्द्धना पत्र हिमाकुमारी सुब्बाले पठन गरेकी थिइन् भने धन्यवाद धन्यवाद ज्ञापन अन्तिमा घतानीले गरेकी थिइन्।

कार्यक्रमको प्रथम चरणमा एउटा र्याली निकालियो। सम्पूर्ण आईसीडीएस कर्मचारीहरूले हातमा पोषण सम्बन्धित प्ला कार्ड लिएर गाड़ीधुरा बजारको परिभ्रमण गरे। त्यसपछि दोस्रो चरणको कार्यक्रम यहाँको गाड़ीधुरा सार्वजनिक भवनमा सम्बर्द्धना अनि वार्ता आदिको कार्यक्रम सम्पन्न भयो।







