दार्जिलिङ: दार्जीलिङ विधानसभा क्षेत्रका विधायक तथा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिका सेक्रेटरी निरज जिम्बाको सक्रिय पहल र सिफारिसमा चारजना आर्थिक रुपमा कमजोर बिरामीलाई पश्चिम बंगाल सरकारको मुख्यमन्त्री राहत कोषमार्फत् आवश्यक उपचार खर्चको सहायता स्वीकृत गरिएको छ।
यस सहयोगप्रति पश्चिम बंगाल राज्यकी माननीय मुख्यमन्त्री तथा उत्तरकन्या शाखा सचिवालय, जलपाईगुड़ीस्थित मुख्यमन्त्री कार्यालयलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै विधायक जिम्बाले यस्तो मानवीय सहयोगले न केवल लाभार्थीहरूलाई राहत प्रदान गरेको छ, तर जनउत्तरदायी तथा संवेदनशील प्रशासनप्रति आम जनताको विश्वासलाई अझ बलियो बनाएको बताएका छन्।
स्वीकृत आर्थिक सहायता तथा लाभार्थीहरूमा घुम जोरबङ्लो वार्ड नम्बर १ घूम निवासी सबनम राई जसको लागि सतासी हजार रकम स्वीकृत भएको बताइएको छ। त्यसरी नै टक्भर चौथो डिभिजन, नर्थ पोइन्ट निवासी बीर्खबहादुर राईलाई छ हजार छ सय रकम
स्वीकृत भएको छ भने हरिदास हट्टा, कन्भेन्ट रोड निवासी प्रशान्त क्षेत्रीलाई एक लाख रुपियाँ रकम स्वीकृत भएको बताइएको छ। त्यसरी नै भालुखोप नयाँबस्ती, घूम निवासी कुणाल थापाको लागि एकसट्ठी हजार रकम स्वीकृत भएको बताइएको छ। विधायक निरज जिम्बाले आफू जनप्रतिनिधिका नाताले सेवा भावसहित सदैव जनताको दुःखमा साथ रहने प्रतिवद्धता पुनः व्यक्त गरेका छन्। साथै उनले पर्वतीय क्षेत्रमा अझ समावेशी, संवेदनशील र उत्तरदायी सेवा संस्कृतिको विकासका लागि सबै मिलेर अगाडि बढ्न आह्वान गरेका छन्।