नाम्ची: सिक्किम राज्य स्थापनाको ५०औं वर्षगाँठको अवसरमा आज नाम्ची जिल्लाअन्तर्गत पर्विङ हेरिटेज वकको उदघाटन गरियो। पर्विङको सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले यसको निर्माण गरिएको हो। कार्यक्रममा क्षेत्र विधायक सतीशचन्द्र राई मुख्य अतिथिकारूपमा उपस्थित थिए। विधायक राईले वकमा सहभागिता जनाउने अवसर प्राप्त गर्नको साथै पर्विङ सामतिलिङ गुम्बा, सेडा पर्बिङ गुरू छोपेमा झील र शेर्पा समुदायको १९३० मा निर्माण गरिएको घरको पनि भ्रमण गरे। उनले क्षेत्रमा शेर्पा समुदायले आफ्नो संस्कृति र परम्पराको संरक्षणको निम्ति गरेको पहलको प्रशंसा गरे। नाम्ची जिल्लामा पर्यटन क्षेत्रलाई विस्तार गर्ने सम्भावनाबारे उजागर गर्दै जिल्लालाई पर्यटकहरूको गन्तव्यकोरूपमा रूपान्तरण गर्न सबैले प्रयास गर्नुपर्ने आग्रह गरे। यस अवसरमा विधायक राईले सिक्किम भारतको एक अभिन्न अंग भएको पचास वर्षको अवसरमा सबैलाई शुभकामना दिए। सोही प्रकारले उपनिर्देशक लामिन थिङले आफ्नो सम्बोधनमा पर्विङमा पर्यटकहरूलाई आकर्षित गराउने गुम्बा, सेरिन झील, जैविक कृषि र धरोहर स्थलबारेमा जानकारी गराए।