आशिष राई आक्रमण मामिलामा पुलिस कार्यवाहीलाई लिएर असन्तुष्ट क्याप

IMG-20250515-WA0276(1)

गान्तोक: गत ५ मईको दिन राजधानीको ताथङचेनमा दिँउसै पार्टीका युवा नेता आशिष राईमाथि भएको प्राणघातक आक्रमणका आरोपीहरूलाई आजसम्म पक्राउ नगरेकोमा सिटिजन एक्शन पार्टी, सिक्किम (क्याप सिक्किम) ले असन्तुष्टी जाहेर गरेको छ। पार्टीका युवा परिषदका सदस्यहरू पीड़ित राईको साथमा आज सदर थाना पुगेर जाँचको प्रगतीलाई लिएर जानकारी लिएका थिए। थानाबाट निस्केर पत्रकारहरूसित कुराकानी गर्दै पार्टीका प्रवक्ता प्रकाश पराजुलीले सदर पुलिसको कार्यवाहीलाई लिएर असन्तुष्टी जाहेर गरेका हुन्।
पराजुलीले सम्बन्धित मामिलामा पुलिसको कार्यवाही निराशाजनक रहेको बताए। घट्ना भएको अनि मामिला दर्ता गरिएको करिब दश दिन बितेर जाँदा पनि आरोपीहरूलाई पुलिसले पक्राउ गरेको छैन। नत यस बारेमा पीड़ित तथा पार्टीलाई कुनै प्रकारको जानकारी नै प्रदान गरिएको छ, उनले भने। आज घट्नाको जाँचलाई लिएर पुलिस कार्यवाही बारे जानकारी लिन आउँदा सदर थानाका प्रभारी नै थानामा अनुपस्थित रहेको उनले थप बताए।
प्रकाश पराजुलीले सदर पुलिस आशिष राईमाथि भएको आक्रमणको घट्नामा पुलिसले तत्परता नदेखाएको भन्दै पुलिस कार्यवाही माथि शङ्का जाहेर गरेका छन्। के पुलिस प्रशासन कसैको दबाउमा त छैन भन्दै उनले प्रश्न तेर्साएका छन्। यसको साथै कतै सत्ताको निर्देशन तथा छत्रछाँयामा आरोपीहरूले यो अपराध गरेको त होइन भन्ने पराजुलीले थप प्रश्न तेर्साएका छन्।
पीड़ित आशिष राईले आफूमाथि भएको घट्नालाई लिएर पुलिसले तत्पर्ता नदेखाएकोमा दुःख व्यक्त गर्दै आरोपीहरूलाई तत्काल पक्राउ गर्ने माग गरेका छन्।

About Author

Advertisement