पाँचवटै घरहरु पुनर्निर्माण गरिदिने अनित थापाको प्रतिबद्धता
खरसाङ: खरसाङको सिंगेल चियाबारीस्थित कफीबारी, गोदमधुरामा आज भएको आगलागीले ५ परिवारहरू प्रभावित भएका छन्। उक्त आगलागीको घटना चाल पाउने बित्तिकै घटनाको स्थिति बुझ्न गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा आफै घटनास्थलमा पुगेका थिए। यस आगलागीको घटनामा पाँचवटा घरहरु पूर्ण रूपमा नष्ट भएका छन् र सबै कागजातहरू तथा सामानहरू जलेर नष्ट भएका छन्। यस घटनालाई लिएर अनित थापाले तुरन्तै खण्ड विकास अधिकारी र महकुमा शासक कार्यालयसँग समन्वय राखेर प्रभावित परिवारहरूलाई राहतको व्यवस्थापन गर्ने निर्देश दिएको जानकारी प्राप्त भएको छ। उक्त घटना विषयमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले भने, ‘आगलागीमा प्रभावित परिवारहरूले घर बनाइदिनु होस् सर भनेर आग्रह गरे। हो मानिसले खानाको निम्ति जसरी पनि जोगाड गर्छ। भोलिदेखि कमाउनु पनि जानु सक्छन्। तर बस्ने वाँसको निर्माण गर्नु आगलागीका पीडितहरुलाई फलामको चिउरा चपाउनु बराबर हो। मैले पाँचवटै घरहरू पुनर्निर्माण गर्ने प्रतिबद्धता दिएको छु। छिमेकीहरूले जुन सहयोग गर्नु भयाे सबैले यस दुःखद घडीमा उहाँहरूको साथमा उभिदिन आग्रह गर्दछु।’