गान्तोक: देशका उपराष्ट्रपति जगदीप धनकड़को दुई दिवसीय सिक्किम भ्रमण तयारीलाई लिएर राज्यका मुख्य सचिव आर तेलाङको अध्यक्षतमा एक बैठक सम्पन्न भयो। टाशीलिङ सचिवालयमा सम्पन्न भएको बैठकमा आगामी १७ मईको दिनदेखि हुने दुई दिवसीय भ्रमणबारे छलफल गरियो। उपराष्ट्रपति सिक्किम आउने तय भएपछि उनको आगमनको तयारीबारे जानकारी गराइयो। दुई दिवसीय सिक्किम भ्रमणको क्रममा उनले राज्यका विभिन्न विद्यालय र विश्वविद्यालयका विद्यार्थीहरूसंग अन्तर्क्रिया गर्नको साथै सिक्किम विधानसभाको पनि भ्रमण गर्ने तय भएको छ। मुख्य सचिव तेलाङले उपराष्ट्रपतिको प्रारम्भिक यात्रा कार्यक्रमबारेमा अधिकारीहरूलाई जानकारी गराउँदै तोकिएका स्थानहरूमा प्रस्तावित कार्यक्रमबारे समीक्षा गरे। बैठकको क्रममा उनको भ्रमणअवधिमा कार्यक्रमको संरचनामाथि छलफल भयो। जसमा भ्रमण, सुरक्षा, सम्पर्क प्रतिनिधिहरूको नियुक्ति, आवास, चिकित्सा व्यवस्था, खानपान, यातायात लगायत अन्य विषयमा छलफल गरियो। उनको सिक्किम भ्रमणलाई सफल तुल्याउनको निम्ति सम्वन्धित स्थानहरूमा सुरक्षा व्यवस्था, लाइजेनिङ अधिकारीहरू नियुक्त साथै सबै अधिकारीहरूले एक अर्कामा तालमेल राखेर काम गर्नुपर्ने सचिवले निर्देश दिए। यस बैठकमा विभिन्न विभागका प्रमुख, वरिष्ठ अधिकारी र विभागका अधिकारीहरूले पनि सहभागिता जनाएका थिए।