सिक्किमबाट शुभकामना दिनेहरू को-को हुन् सरकारले सार्वजनिक गर्नुपर्ने माग

IMG_20220913_235217.jpg

गान्तोक: जन्तर-मन्तरमा धारा ३७१एफ रद्द गर्नुपर्छ भन्दै धरनामा बस्ने व्यक्तिहरूलाई सिक्किमबाट शुभकामना दिनेहरूलाई पनि कठघरामा उभ्याउनु पर्छ भनी सिक्किम प्रदेश कांग्रेसले बताएको छ। धरनामा बस्ने दुई जनालाई पक्राउ गरेर उनीहरूलाई सिक्किमबाट शुभकामना दिनेहरू को-को हुन् सरकारले सार्वजनिक गर्नुपर्छ भन्ने माग पनि गरेको छ। सिक्किम प्रदेश कांग्रेस अध्यक्ष गोपाल छेत्रीले धारा ३७१एफ रद्द गरिनु पर्छ भन्ने माग गर्दै दुई जना व्यक्तिले दिल्लीको जन्तर-मन्तरमा धरना दिएको विषयमा प्रतिक्रिया जनाउॅंदै यसो भनेका हुन्। धरनामा बस्ने व्यक्तिहरूले जारी गरेको एउटा भिडियोमा धारा ३७१एफ रद्द गरिनु पर्छ भनेर आवाज उठाउॅंदा सिक्किमबाट धेरैले आफुहरूलाई शुभकामना दिएको उनले आज एक प्रेसवार्तामा दाबी गरे। उनले शुभकामना दिने व्यक्तिहरूलाई पनि कठघरामा उभ्याउनु पर्छ भन्ने माग गरे। उनले यहॉं चपाउने र देखाउने दॉंत भिन्न-भिन्नै रहेको आशंका लाग्न थालेको बताए।
उनले सिक्किमका मूल रैथाने र यहाँ आएर फाइदा लिनेहरूबीच अशान्ति फैलिएको खण्डमा यसको निम्ति सिक्किम सरकार जिम्मेवार हुने पनि बताए। उनले सिक्किम सरकारलाई जनता र सिक्किमको कानूनको सुरक्षा गर्न जनताले विश्वास गरेर ल्याएको हो भनी बताए। अर्कोतिर, उनले यस्तो चलखेल सिक्किमबाटै भएको हुन सक्ने आशंका पनि व्यक्त गरे। उनले बाहिरी तत्वहरूलाई सिक्किमको मामिलामा हस्तक्षेप गर्ने काम छैन भनी बताए।

प्रदेश कांग्रेस अध्यक्षले सिक्किम सरकारलाई रेन्टमा लाइसेन्स दिने व्यक्तिहरूको लाइसेन्स रद्द गर्नु पर्छ भन्ने माग पनि गरेका छन्। उनले पैसाको निम्ति लाइसेन्स बनाएर दुरूपयोग गर्नेहरूको लाइसेन्स रद्द हुनुपर्छ भनी बताए। उनले यस कारण पनि राज्यमा अनुप्रवेश बढिरहेको आसय व्यक्त गरे। उनले भने, ‘हामीले शान्ति र भाइचारा मात्र भनेर हुँदैन। भावी पीढीको भविष्य खतरामा पर्दैछ। सीओआई छ भनेर ढुक्क बस्नु हुँदैन।’ उनले हामी मिलेर बस्न चाहन्छौ तर, शान्तलाई चलायो भने अशान्ति हुनेछ भन्ने चेताउनी पनि दिए।

सरकारले यस्ता लाइसेन्सहरू रद्द गरेको खण्डमा आफुहरू सरकारप्रति कृतज्ञ बन्ने पनि उनले बताए। उनले यस्ता लाइसेन्सहरू निरस्त गरिदिएको खण्डमा मिन्तोकगाङमा गएर मुख्यमन्त्रीलाई खदा लगाइदिने छु भनी बताए। तर, सरकारले सिक्किमको पक्षमा काम नगरेको उनले आरोप पनि लगाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement