नयाँ दिल्ली: अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच ११ जूनदेखि लर्ड्समा वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी)-को फाइनल म्याच खेलिनेछ अनि यसले गर्दा यी दुई देशका खेलाड़ीहरूले आईपीएल २०२५-को अन्तसम्म खेल्ने सम्भावना कम्ती नै रहेको छ। दक्षिण अफ्रिकाका मुख्य प्रशिक्षक शुकरी कोनराडले पनि खेलाड़ीहरूका उपलब्धताबारे बयान दिएका छन्। उनको भनाइअनुसार, आईपीएलमा हिस्सा लिइरहेका राष्ट्रिय टीमका खेलाड़ीहरू २६ मईसम्म स्वदेश फर्किनेछन्। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले भारत र पाकिस्तानबीच तनाउलाई ध्यानमा राखेर आईपीएल २०२५-लाई एक हप्ताको निम्ति स्थगित गरिको थियो। बोर्डले हालै यसको संशोधित कार्यक्रम जारी गरेको छ। अब आईपीएल १७ मईदेखि शुरु भएर ३ जूनसम्म चल्नेछ। आईपीएलको तारिखहरू अघि बढ़्दा टीमहरूलाई अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूले गर्दा समस्या भइरहेको छ। सबैभन्दा अधिक चिन्ता अष्ट्रेलिया र दक्षिण अफ्रिकाका खेलाड़ीहरूलाई रहेको छ।
आईपीएल सीजन अघि बढ़ेको प्रसंगमा कोनराडले भने, आईपीएल र बीसीसीआईसँग भएको शुरुवाती सम्झौता अनुसार खेलाड़ीहरू २५ मईमा हुने फाइनलपछि २६ मईमा स्वदेश फर्किनु थियो। हाम्रो दृष्टिकोणले केही बद्लिएको छैन। यही कुरा चलिरहेको छ। यसैकारण हामी आफ्ना खेलाड़ीहरू २६ मईसम्म स्वदेश फर्कियोस् भन्ने चाहन्छौं। उल्लेखनीय छ, दक्षिण अफ्रिकाले डब्ल्यूटीसी फाइनलको निम्ति टीमको घोषणा गरिसकेको छ अनि सबै खेलाड़ीहरू ३१ मईसम्म ईंग्ल्याण्ड पुग्नु पर्नेछ। आईपीएलमा नखेल्ने खेलाड़ीहरू ३० मईसम्म पुग्नेछन् जबकि आईपीएलमा खेलिरहेका खेलाड़ीहरूले प्लेअफ् अघि नै फ्रेञ्चाइजीको साथ छोड़्नु पर्नेछ। डब्ल्यूटीसी फाइनलको निम्ति दक्षिण अफ्रिकी टीममा सामेल धेरैजना खेलाड़ीहरू आईपीएलमा खेलिरहेका छन्। यसमा ७ जना खेलाड़ीको टीम त प्लेअफ्-को रेसमा कायम छ। यसमा कर्बिन बश र रियान रिकेलटन (मुम्बई इण्डियन्स), कगिसो रबाडा (गुजरात टाइटन्स), ट्रिस्टन स्टब्स (दिल्ली क्यापिटल्स), एडेन मार्करम (लखनऊ सुपर जाइण्ट्स), मार्को यानसन (पञ्जाब किंग्स) र लुंगी एनगिडी (आरसीबी) सामेल छन्।
यी खेलाड़ीहरूलाई शुरुमा २५ मईसम्म आईपीएलमा हिस्सा लिनको निम्ति अनापत्ति पत्र (एनओसी) दिइएको थियो तर टुर्नामेण्टको तारिखहरू अघि बढ़्दा उनीहरूलाई खेल जारी राख्न नयाँ एनओसी-को आवश्यकता पर्नेछ। डब्ल्यूटीसी फाइनलको महत्त्वलाई ध्यानमा राखेर क्रिकेट दक्षिण अफ्रिकाले खेलाड़ीहरूलाई फेरि एनओसी दिने सम्भावना कम्ती नै छ। आईपीएल फाइनल र डब्ल्यूटीसी फाइनलको शुरुवातबीच केवल ८ दिनको अन्तर रहेको हुनाले दक्षिण अफ्रिकी प्रबन्धन खेलाड़ीहरूलाई थकानबाट बचाउन अनि अष्ट्रेलियाविरुद्ध ठूलो म्याचको तयारीको निम्ति समय सुनिश्चित गर्नमा ध्यान केन्द्रित गरिरहेको छ।