प्रहरी उपरीक्षक लिम्बूको प्रतिबद्धता: झापामा लागू औषधको जालो तोड्ने घोषणा

IMG-20250514-WA0155

भद्रपुर: झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बूले जिल्लामा बढ्दो लागू औषधको जालोलाई तोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जिल्ला प्रहरी कार्यालय झापामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एसपी लिम्बूले लागू औषध नियन्त्रणका लागि स्थानीयवासीको समन्वयमा विशेष रणनीति तयार पारिएको जानकारी दिए। उनले भने, “लागू औषधको कारोबारले समाजमा गम्भीर असर पारिरहेको छ, यसलाई जरैदेखि उखेल्न हामी प्रतिबद्ध छौं।”
एसपी लिम्बूले लागू औषधसँगै चोरी, अवैध तस्करी, सवारी दुर्घटना र ठगी जस्ता आपराधिक गतिविधिहरूको पनि नियन्त्रण गर्ने योजना रहेको बताए। सामाजिक सञ्जालको दुरुपयोग, ब्ल्याकमेलिङ, र चोरी पैठारीजस्ता घटनामा प्रहरीले निगरानी बढाउने उनले स्पष्ट पारे।
झापामा बढ्दो मोटरसाइकल चोरी नियन्त्रणका लागि चेकिङका क्रममा ब्लुबुकको फोटो र चेचिस नम्बर अनिवार्य हेर्न निर्देशन दिइसकेको बताउँदै उनले अपराध नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने अठोट व्यक्त गरे।
जिल्लावासीको सुरक्षाका लागि पूर्ण रूपमा समर्पित रहने बताउँदै एसपी लिम्बूले प्रहरी कार्यालय र यूनिटहरूमा सर्वसाधारणको सहज पहुँच सुनिश्चित गरिने प्रतिवद्धता जनाए। उनले भने, “प्रहरीसँग सम्पर्क गर्न अब कसैको सिफारिस वा साहाराको आवश्यकता पर्दैन, प्रहरी तपाईंको आफ्नै साथी हो।”
एसपी लिम्बूको यस्तो प्रतिबद्धतालाई झापामा शान्ति सुरक्षा सुदृढ बनाउने सन्दर्भमा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement