
नारी सशक्तिकरण विषयले मलाई आत्म-मूल्याङ्कन गर्न बाध्य गराउँछ- ‘म सशक्त छु कि छुइनँ?’ हुनत नारी सशक्त नभएर नै यो विषयको उठान पटकपटक हुनेगर्छ। उठान हुनु भनेको आशङ्का जाग्नु हो, विश्वास नहुनु हो। अब प्रश्न उठ्छ, सशक्तिकरणको सही अर्थ के हो? सशक्तिकरणको तौल गर्ने मापदण्ड के हुन्? सशक्त कस्तो र कसलाई भन्ने? वास्तवमा आजको सन्दर्भमा नारी सशक्तिकरणको मुद्दा उठाउने हामी सबैजना यसको परिभाषालाई लिएर अन्योलमा छौं। सही अर्थ नबुझी लेखिरहेछौं, बोलिरहेछौं। आफ्नै विचार र दृष्टिलाई सही ठानिरहेछौं। यस्तै मान्छेभित्र परेकी म पनि यसको सही अर्थ नबुझी आफ्नो सीमित विचारधारा र सोचको आधारमा यो लेख तयार गरिरहेछु। किनकि कलमले चल्छु भन्यो, केही नसोची अनुमति दिइहालें।
भारतको मात्र वर्तमान सन्दर्भमा नारी सशक्तिकरणबारे चर्चा गर्नअघि भूतकालमा नारीको अवस्था र मानव सभ्यतामा नारीले खेलेका भूमिकाको स्मरण गर्न भारतीय इतिहासका पाना पल्टाउन आवश्यक ठान्दछु। भारतले विभिन्न कालखण्ड पार गर्दै वर्तमान आधुनिककालमा प्रवेश गरेको हो। लक्ष्मीलाई वैभवकी देवी, सरस्वतीलाई विद्यादायिनी, दुर्गालाई शक्तिकी देवी र कालीलाई कालशक्तिको दर्जा दिइएको तथ्यबाट प्राचीन भारतमा नारीप्रतिको सम्मान र इज्जत स्पष्ट हुँदछ।
ऋग्वेदका स्तोत्र कम्तीमा पनि बीसजना नारीले रचेका छन्। नारीहरू वेद पढ्थे, गायत्री मन्त्र जप्थे। राजनैतिक र आर्थिक क्षेत्रमा नारीको अधिकार सीमित भए पनि सामाजिक र धार्मिक क्षेत्रमा पूर्ण अधिकार थियो। नारीबिना यज्ञ सम्भव थिएन। पर्दा प्रथा नभएको समाजमा उनीहरू स्वतन्त्र थिए
वैदिककालमा नारी :
वैदिककाललाई नारीहरूका निम्ति केही हदसम्म स्वर्णयुग भन्न सकिन्छ। यस युगमा भारतीय नारीले जुन श्रद्धा, सम्मान र इज्जत पाएका थिए, शायदै पछिल्लाकालमा पाए होलान्। नारीलाई शक्तिको दैवी रूप मानिन्थ्यो। उनीहरू मुख्यतः शिक्षाको क्षेत्रमा धेरै अग्रज थिए अनि पुरूषसितै समान शिक्षा अधिकारको उपभोग गर्थे। फलस्वरूप वैदिककालमा दार्शनिक लोपामुद्रा (ऋषि अगस्त्य मुनिकी धर्मपत्नी), गार्गी, मैत्रेयी, अपला, अत्रेयी र हिमान्द्री जस्ता विदुषीहरूले जन्मग्रहण गर्नसके। ऋग्वेदका स्तोत्र कम्तीमा पनि बीसजना नारीले रचेका छन्। नारीहरू वेद पढ्थे, गायत्री मन्त्र जप्थे। राजनैतिक र आर्थिक क्षेत्रमा नारीको अधिकार सीमित भए पनि सामाजिक र धार्मिक क्षेत्रमा पूर्ण अधिकार थियो। नारीबिना यज्ञ सम्भव थिएन। पर्दा प्रथा नभएको समाजमा उनीहरू स्वतन्त्र थिए। आफ्नो जीवनसाथीको छनौट गर्ने उनीहरूलाई स्वतन्त्रता प्राप्त थियो। लिङ्गभेद नभएको तत्कालीन समाजमा नारीलाई पुरूषका अर्धाङ्गिनी मानिन्थ्यो। विधवाले सामान्य जीवन जिउन अनि पुनः बिहे गर्नसक्थे। घरभित्रै बस्नुपर्ने बाध्यता थिएन। उनीहरूले खेतीपातीमा पनि पुरूषलाई सघाउँथे। तथापि पुरूषसरह स्वतन्त्रता र अधिकार प्राप्त भए पनि अनि सामाजिक र राजनैतिक जीवनमा अहम् भूमिका रहे पनि उनीहरू राजनैतिक अधिकारबाट बञ्चित थिए अनि राजनीतिमा प्रवेश निषेध थियो। पैतृक सम्पत्तिमा छोरीको अधिकार थिएन। अविवाहित छोरीले आफ्नो माइतीले पाएको एक चौथाई मात्र पैतृक सम्पत्ति पाउँथे। आमाको मृत्युपछि उसको सम्पत्ति छोरा र अविवाहित छोरीमा बराबर विभाजित गरिन्थ्यो। यस कालमा नारीको स्थिति सन्तुलित थियो भन्न सकिन्छ।
उत्तर-वैदिककालमा नारी :
उत्तर-वैदिककालमा पुराण, महाभारत र रामायण जस्ता महाकाव्य रचिएका हुन्। वैदिककालमा नारीलाई दिइएको शिक्षा अधिकारको निरन्तरता उत्तर-वैदिककालमा पनि रह्यो। छोरीलाई गुरूकूलमा प्रवेश गर्ने अधिकार थियो। घोसा, इन्द्राणी, श्रद्धा, कामायनी, पौलमी, उर्वशी जस्ता नारी ऋषिहरू थिए। दाइजो प्रथा थिएन। समाजमा व्याप्त स्वयम्बर प्रथाअन्तर्गत नारीलाई आफ्नै वर चुन्ने अधिकार प्राप्त थियो। रामायणमा सीताले यसै प्रथामा रामलाई वर चुनेकी थिइन्। हुनत यसकालमा नारीको स्थितिलाई लिएर दुई वैचारिक सिद्धान्त छन्। एकानुसार महिलालाई पुरूषसमान अधिकार प्राप्त थियो अनि अर्कानुसार नारीलाई सम्मान नगरेर घृणा गरिन्थ्यो। यसै युगदेखि नारीहरूको अवस्था बिस्तारै बिग्रदैँ गयो। सामाजिक, आर्थिक र धार्मिक क्षेत्रमा उनीहरूका अधिकार खोसिँदै गए। पुरूष-स्त्री समान भन्ने वैदिक आदर्श हराउँदै गयो। विधवा पुनःविवाहमा प्रतिबन्ध लगाइयो तर विधवा भाउज्यू अथवा विधवा बुहारीलाई बिहे गर्ने प्रथा देखाह पर्यो। रामायणमा सुग्रिवले दाज्यू बालीकी विधवा तारालाई बिहे गरेका थिए। वैदिककालमा अधार्ङ्गिनी मानिने नारीले उत्तर-वैदिककालमा पुरूषलाई ईश्वरको रूप मान्दै पतिपरमेश्वर भन्नुपर्ने भयो। नारीहरू शिक्षादेखि बञ्चित हुनथाले। एकसमय एकजना ऋषिको सत्सङ्गमा प्रश्न उठाउँदा विदुषी गार्गीलाई यसरी चेतावनी दिइएको थियो,‘गार्गी धेरै नसोध् नत्र शिर काटिएला। ‘पहिलेजस्तो धार्मिक अनुष्ठानमा नारीहरू सहभागी हुन बन्द भयो न त उनीहरूले वेदपाठ नै गर्न पाउने भए। नारी शोषण र नारी अत्याचारको अदृश्य शुरूवात् यसरी हुनथाल्यो।
भारतीय इतिहासमा बहुमूल्य योगदान पुर्याउने चाणक्यले आफ्नो पुस्तक ‘चाणक्य नीति’मा नारीप्रति अपमानजनक उल्लेख गरेका छन्। ऐतिहासिक तथ्यानुसार भारतमा सती प्रथा गुप्त साम्राज्यमा प्रभावी भएको हो
पूर्व-मध्यकालिन युगमा नारी :
पूर्व-मध्यकालिन युगमा विशेषगरी धार्मिक क्षेत्रमा नारीको अवस्थामा केही सुधार आएको देखिन्छ। गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको पाँच वर्षपछि पहिलोपटक नारीलाई भिक्षुनी मानेका थिए। उनकी सानीमा महापजापति गौतमी पहिलो बौद्ध भिक्षुनी हुन्। धेरै नारीहरू भिक्षुनी हुनथाले अनि उनीहरूको आफ्नै ‘भिक्षुनी सङ्घ’ थियो र भिक्षुका नियम-कानूनको पालना गर्थे। भारतीय सभ्यतामा स्वर्णिम युग मानिने गुप्तकालमा नारीहरूलाई देवीसरह सम्मान दिइएकोअनि बिहे, दाइजो र उत्तराधिकारका नियम तयार गरिएको साथै विधवा पुनःविवाहको अनुमति भए पनि पुरूष समान अधिकार प्राप्त थिएन। गुप्त साम्राज्यका संस्थापक पहिलो सम्राट् चन्द्रगुप्तका सल्लाहकार एवं महान् विद्वान तथा दार्शनिक चाणक्य नारी हितका विरोधी देखिन्छ। उनले ‘नारीमा निम्न नैतिक प्रवृत्ति भएको अनि नारीमाथि विश्वास नगर्नु’ भनेका थिए। भारतीय इतिहासमा बहुमूल्य योगदान पुर्याउने चाणक्यले आफ्नो पुस्तक ‘चाणक्य नीति’मा नारीप्रति अपमानजनक उल्लेख गरेका छन्। ऐतिहासिक तथ्यानुसार भारतमा सती प्रथा गुप्त साम्राज्यमा प्रभावी भएको हो। हुनत कुशल सम्राट् अशोकले सती प्रथालाई केही हदसम्म नियन्त्रित गर्न मुख्य पुलिस अधिकारीको विशेष अनुमतिबिना नारीहरू सती जान सक्दैनन् भन्ने आशयको आदेश जारी गरेका थिए। यस प्रथाअन्तर्गत पत्नीले मृत पतिको चितामा आफैलाई होमिई आत्मदाह गर्नुपर्थ्यो। पतिको मृत्युपछि खप्नुपर्ने अत्याधिक अत्याचारले गर्दा उनीहरू पतिको चितामा आत्मदाह गर्न राजी भएको हुनुपर्छ। यसरी नारी सती जाँदा बाजा-गाजा बजाएर अवसरको रूप दिइने गरिन्थ्यो।शिक्षित नारीहरू पनि यस प्रथाका शिकार बनेका थिए। बाल विवाह र पर्दा प्रथा पनि यसै युगमा शुरू भएका हुन्।
तिनताक नारीहरू धेरै शिक्षित र कुशल थिए तर सामाजिक रीतिरिवाज र अमानवीय प्रथाको खुल्लमखुल्ला विरोध गर्ने अनि नारी उन्मुक्तिको आवाज उठाउनेसाहस उनीहरूमा थिएन। यसबाटशिक्षा मात्रै नारी सशक्तिकरणको आधार बन्न नसक्ने कुरो प्रमाणित हुँदछ। वर्धन साम्राज्यका शासक हर्षवर्धनकी बहिनी राज्यश्री कानुनविद् थिइन् र उनले चिनियाँ बौद्ध भिक्षु ह्वेन त्साङ्गबाट कानूनको शिक्षा लिएकी थिइन्। महारानी र राजकुमारीबाहेक साहित्य, दर्शन, गणित र कलाका क्षेत्रमा धेरै अग्रज नारीहरू थिए। मिथिलाकी भारती खुबै ख्यातिप्राप्त दार्शनिक थिइन्। दसौं शताब्दीमा महारानी दिदाले काश्मीरमा शासन गरिन्। उनी खुबै सुन्दर तर विकलाङ्ग थिइन्। उनलाई अर्की महिलाले पिँठ्युमा बोक्नु पर्थ्यो। आफ्ना जुवाड़े, जँड्याहा र शिकारी पति क्षेमागुप्त कमजोर शासक भएका हुनाले राजशासनको जिम्मेवारी उनीमाथि थियो। निर्भीक नारी दिदालाई नारी सशक्तिकरणका प्रतीक यसकारण मान्न सकिन्छ किनकि उनले पतिको मृत्युमा सती जान अस्वीकार गरिन्। नारी उन्मुक्तिको त्यो पहिलो आवाज थियो। समाजबाट दिदाका पहलको घोर विरोध भयो तर उनले डटेर सामना गरिन् अनि पुत्र अभिमन्यु योग्य नभएसम्म महारानी भएर राजशासन चलाइन्। पितृ सत्तात्मक समाजमा नारी शासकको रूपमा उनले धेरै कठिनाइ झेल्न पर्यो। चौध वर्षपछि छोरोको पनि मृत्यु हुँदा उनी फेरि नाति भीमगुप्त योग्य नभएसम्म शासक बनिन्। उनी असल र कुशल शासक थिइन्।
वैदिककालमा दैवीरूपले सम्मानित नारीलाई सम्पदाको रूपमा हेर्न थालियो। उत्तर-वैदिककालमा शुरू भएको लिङ्गभेद मुगलशासनमा चरमबिन्दुमा पुग्यो। महिलाहरू निम्नतम स्वतन्त्रताबाट पनि बञ्चित रहे। तथापि मुसलमान शासकहरूले सतीलाई निर्मम प्रथा मानेका थिए
आठौं शताब्दीपछि नारी :
आठौं शताब्दीमा पहिलोपटक मुसलमानले भारतमा आक्रमण गरे। त्यससमय शङ्कराचार्य समकालिक थिए। उनको नेतृत्वमा हिन्दु समाजले वेदको वर्चस्व स्थापित गर्ने र नारी-पुरूषमा समानता ल्याउने भरमग्दूर प्रयास गर्यो। एघारौं शताब्दीमा मोहम्मद गजनवीले भारतमा आक्रमण गरेर विजय हासिल गरेदेखि अठाह्रौं शताब्दीसम्म झण्डै ७०० वर्षको अवधिमा नारीहरूको अवस्था सोचनीय रह्यो। सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा उनीहरू पछौटे बन्दै गए। तथापि पन्ध्रौं शताब्दीमा भएको भक्ति आन्दोलनमा नारीहरूको सामाजिक र धार्मिक अवस्थामा नयाँ मोड देखियो। चैतन्य, नानक, कबीर, मीरा, तुलसी र तुकाराम जस्ता सुधारकहरूले धार्मिक अनुष्ठानमा नारी अधिकारको आवाज उठाउँदा नारीहरूलाई केही मात्रामा धार्मिक र सामाजिक स्वतन्त्रता प्राप्त भयो।पत्नीको स्वीकृतिबिना पति सन्यास लिन नपाउने भए। मध्यकालिन युगमा भारतको इतिहासमा सामाजिक-धार्मिक सुधारक र चिन्तकहरूले भक्ति आन्दोलनको रूपमा समाजमा ल्याएको मौन आन्दोलन महत्त्वपूर्ण रहेको छ। आर्थिक र राजनैतिक क्षेत्रमा पछौटे रहे पनि सामाजिक र धार्मिक क्षेत्रमा उनीहरूको स्थितिमा केही सुधार आउन गयो। नारी शिक्षामाथि धेरै बल दिइयो। तर देवदासी, बाल विवाह र सती प्रथा भने यथावत् रहे। नारीहरू आर्थिक दृष्टिले पूर्णतया पुरूषमाथि निर्भर रहन्थे। वैदिककालमा दैवीरूपले सम्मानित नारीलाई सम्पदाको रूपमा हेर्न थालियो। उत्तर-वैदिककालमा शुरू भएको लिङ्गभेद मुगलशासनमा चरमबिन्दुमा पुग्यो। महिलाहरू निम्नतम स्वतन्त्रताबाट पनि बञ्चित रहे। तथापि मुसलमान शासकहरूले सतीलाई निर्मम प्रथा मानेका थिए। मुगल साम्राज्यमा कतिपय नारीहरूको भूमिका सराहनीय छ। बाबरकी बोजू दौलत बेगम नै हुन् जसले छोरोको मृत्युपछि एघार वर्षको उमेरमा सम्राट् बनेका नाती बाबरलाई शासनको प्रत्येक काममा मार्गदर्शन गरेकी थिइन्। दक्षिण एशियाका पहिलो मुसलमान महिला शासक दिल्ली सल्तनतकी रानी रजिया सुलतानाको सक्षमता उल्लेखनीय छ। ऐतिहासिक विरङ्गनाहरूको चर्चा गर्दा बाह्रौं शताब्दीमा काकातिया वंशकी शक्तिशाली महिला शासक रूद्रमा देवी, जसलाई महारानी नभनेर महाराजा भनी सम्बोधन गरिन्थ्यो, अवधकी बेगम हजरत महल, जसले पति निर्वासित भएपछि अवधको नियन्त्रण हातमा लिइन् र पछि भारतीय विद्रोह १८५७–मा ब्रिटिश इस्ट इण्डिया कम्पनीसित लडिन् अनि यसै विद्रोहमा अहम् भूमिका खेल्ने स्वतन्त्रता संग्रामी झाँसीकी रानी लक्ष्मीबाईको पनि उल्लेख नगरी सकिँदैन। (क्रमश: दोस्रो भागमा पढ्नुहोस् अठाह्रौं शताब्दीको मध्यपछि नारी…)
(लेखिका सुपरिचित सामाचार वाचिका/उद्घोषिका, स्वतन्त्र पत्रकार साथै नारीवादी लेखिका हुनुहुन्छ)









