गान्तोक: सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले कनेक्टिविटीको क्षेत्रमा राज्यमा अहिलेसम्म जति काम हुनुपर्ने थियो, त्यति काम हुन नसकेको बताएका छन्। यद्यपि, अहिले एनएचआईडीसीएलले राष्ट्रिय राजमार्ग १० लाई आफ्नो अधीनमा लिएपछि धमाधम काम भइरहेको उनले बताएका छन्।
प्रेस क्लब अफ् सिक्किम र राज्य सूचना एवं जन सम्पर्क (आईपीआर) विभागको संयुक्त तत्वावधानमा आज आयोजित स्वर्ण जयन्ती सम्मेलन ‘सिक्कमलाई सम्बोधन गर्दै सांसद सुब्बाले उक्त कुरा भनेका हुन्। सांसद सुब्बा तीन चरणमा आयोजित कार्यक्रमको अन्तिम चरणमा सभाध्यक्षका रूपमा उपस्थित थिए।
कार्यक्रममा प्यानिस्टहरूको चर्चाको क्रममा राष्ट्रिय राजमार्ग १० को वर्तमान स्थितिको कुरा उठेको उल्लेख गर्दै सांसद सुब्बाले कनेक्टिविटीको क्षेत्रमा सिक्किममा अहिलेसम्म जति काम हुनुपर्ने थियो त्यति हुन नसकेको बताए। उनले राष्ट्रिय राजमार्ग १० पहिले पश्चिम बंगाल सरकारको पीडब्ल्यूडी अन्तर्गत थियो, तर मुख्यमन्त्री प्रेमसिंह तामाङको सक्रिय र पहलमा अहिले राष्ट्रिय राजमार्गको जिम्मा केन्द्रिय एजेन्सी एनएचआईडीसीएलले लिएको जानकारी गराए।

सांसद सुब्बाले राष्ट्रिय राजमार्ग १० लडाई लडेर एनएचआईडीसीएलमा ल्याउन सफल बनेको बताउॅंदै अहिले एनएचआईडीसीएलको देखरेखमा राजमार्गको मर्मत सम्भारको काम चलिरहेको बताए। पहिले राजमार्ग भत्किॅंदा केन्द्र सरकारकहॉं जानु कि बंगाल सरकारकहॉं जानु भन्ने स्थिति रहेको उनले अवगत गराए। अहिले राष्ट्रिय राजमार्गको जिम्मा केन्द्रिय ऐजन्सीले लिएपछि काम चलिरहेको उनले बताए।
यस अघि, सांसद सुब्बाले आजको कार्यक्रममा सबैले निडर बनेर खुल्लारूपमा आफ्ना विचारहरू राखेको देख्न पाउॅंदा प्रजातन्त्र जीवित भएको महसुस भएको बताए। कार्यक्रममा सहभागी बनेका प्यानलिस्टहरूले जति पनि अन्तरदृष्टहरू प्रदान गरे, त्यसलाई केन्द्रमा राखेर नीति निर्धारणमा अगाडि बढ्न सकिने विचार राखे। उनले यस प्रकारको सकारात्मक चर्चाहरू अझ धेरै हुनुपर्छ भन्दै यस्ता चर्चाहरूको माध्यमद्वारा नै भावी नेता र उद्यमीहरूको जन्म हुने बताए।
तीन सत्रमा विभाजित कार्यक्रम अन्तर्गत पहिलो सत्र ‘यी ५० वर्षमा सिक्किम आफ्नो विशिष्ट पहिचानलाई जोगाउँदै राष्ट्रिय मूलधारमा कतिसम्म एकीकृत भएको छ?’ विषयमाथि प्यानल चर्चा भएको थियो। वरिष्ठ पत्रकार पेमा वाङचुकले सञ्चालन गरेको कार्यक्रममा सिक्किम सरकारका मुख्य आर्थिक सल्लाहकार प्रो. महेन्द्र पी. लामा, वरिष्ठ पत्रकार कुणाल सेनगुप्ता र वरिष्ठ पत्रकार कर्म पाल्जोर प्यानिस्ट थिए।

यसैगरी, दोस्रो सत्रमा सिक्किममा निवेशको सम्भावनामाथि चर्चा भएको थियो भने बालवा ग्रुपका उपाध्यक्ष अजय कालकृष्ण, पत्रकार जमाल शैख, पर्यटन एवं नागरिक उड्डयन विभागका प्रधान सचिव सीएस राव र वाणिज्य एवं उद्योग विभागकी सचिव कर्मा डी. युत्सो प्यानिस्ट थिए। यस कार्यक्रमको सञ्चालन वरिष्ठ पत्रकार कर्म पाल्जोरले गरेका थिए।
कार्यक्रमको तेस्रो तथा अन्तिम सत्र मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थिति एवं सहभागितामा प्रस्तावित थियो, तर कतिपय अपरिहार्य कारणहरूले गर्दा मुख्यमन्त्री उपस्थित हुन नसकेपछि उक्त सत्र भएन।
कार्यक्रममा सडक एवं पुल विभागका मन्त्री एनबी दाहाल, गान्तोकका विधायक दिले नामग्याल बर्फुङपा, मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, पार्टी प्रवक्ता कृष्ण लेप्चा, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. महेन्द्र पी लामा, ओबीसी आयोगकी अध्यक्षा पवित्र भण्डारी लगायत अन्य व्यक्तित्वहरू उपस्थित थिए। कार्यक्रममा सहभागी बन्न अरुणाचल प्रदेश, असम, मेघालय, पश्चिम बंगाल आदि राज्यहरूबाट पनि पत्रकारहरू आएका थिए।