गेजिङ: गेजिङ जिल्लाको मानेबुङ-देन्ताम क्षेत्रअन्तर्गत लोवर लुङजिकका पाँच परिवार अहिले सडक निर्माणका कारण विस्थापित भएका छन्। राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेड (एनएचआईडीसीएल) द्वारा निर्माणाधीन सडकको काममा लापरवाही गरिएको आरोप छ। प्रभावित पाँच परिवारले गुनासो राख्दै लापारवाहीप्रति आक्रोश व्यक्त गरेका छन्। गाउँमा विकास आयो भनेर खुशी हुने स्थानीयबासीहरू अहिले रुँदै गेजिङ जिल्लापालसमक्ष व्यथा पोख्न पुगेका छन्। पीडितहरूले आज गुनासो व्यक्त गर्दै कम्पनीले आवश्यक पूर्वसावधानी नअप्उँदा नोक्सानी भएको उल्लेख गरेका छन्। कम्पनीले सड़क खन्दा अन्धाधुन्ध खनाइ गरेर गाउँमा पैह्रोको जोखिम बढाएको गुनासो जिल्लापालसमक्ष राखेका छन्। पीड़ितहरुले जिल्ला प्रशासनसमक्ष आफ्नो घर क्षतिग्रस्त भएर बस्न नसक्ने स्थितिमा पुगेको बताएका छन्। तीमध्ये केही परिवारहरू अस्थायी टहरामा बस्न बाध्य बनेको गुनासो गरेका छन्। उनीहरूले पटक-पटक कम्पनीलाई ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायबाट कुनै सार्थक पहल नभएको गुनासो राखेका छन्। घटनाको जानकारी पाएपछि गेजिङ जिल्लाका जिलापाल तेन्ञ्जीङ डी. डेन्जोङ्पाले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले पीडित परिवारहरूसँग प्रत्यक्ष संवाद गर्दै समस्या समाधानको प्रतिबद्धता जनाएका छन्। प्रभावित परिवारको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन पनि उनले दिएका छन्। स्थानीय बासिन्दाहरूले अब ढिलो नगरी ठोस कदम चालियोस् भन्ने अनुरोध गरेका छन्। विकासको नाममा जनताको जीवनमा संकट नआओस् भन्ने मागसहित उनीहरूले सरकारी संयन्त्रको तत्परता र जवाफदेहिता चाहेका छन्। यस घटनाले पूर्वाधार निर्माणमा गुणस्तर र सुरक्षा मापदण्डको पालना कति आवश्यक छ भन्ने प्रश्न फेरि एकपटक उठाएको छ।