गान्तोक: भारत सरकारको दीनदयाल अन्त्योदय योजनाको राष्ट्रिय शहरी जीविकोपार्जन मिसनअन्तर्गत तयार पारिएका विभिन्न उत्पादहरुको प्रदर्शनी एवं बिक्री कार्यक्रम स्थानीय एमजी मार्गमा शुरु भयो। यसमा विभिन्न स्थानका स्वयं सहायता समूहहरूद्वारा बनाइएका उत्पादनहरू प्रदर्शनी तथा बिक्रीमा राखिएका छन्। कार्यक्रमको उद्घाटन शहरी विकास तथा खाद्य तथा नागरिक आपूर्ति विभागीय मन्त्री भोजराज राईले गरे। मन्त्री राई कार्यक्रममा मिख्य अतिथि थिए भने शहरी विकास विभाग तथा खाद्य तथा नागरिक आपूर्ति विभागका सल्लाहकार दिले नामग्याल बर्फुङ्गपा, उपमेयर छिरिङ पाल्देन भोटिया र शहरी विकास विभागीय वरिष्ठ अधिकारीहरू विशिष्ट अतिथिका रुपमा उपस्थित थिए। अतिथिहरुले एमजी मार्गमा प्रदर्शनीमा राखिएका विभिन्न सामानहरू र पारम्परिक खाद्यहरुको अवलोकन गरेका थिए। एसएचजीका सदस्यहरूले यस महत्वपूर्ण अवसरका लागि विभागप्रति आभार प्रकट गरे। मन्त्री राईले प्रत्येक एसएचजी स्टलसित संलग्न सदस्यहरूसँग अन्तर्क्रिया गर्नका साथै स्थानीय स्वादिष्ट परिकारहरू, हस्तनिर्मित कपडाहरू, र नुहाउने उत्पादनहरूबारे जानकारी लिए। दीनदयाल अन्त्योदय योजना राष्ट्रिय शहरी जीविकोपार्जन मिशनअन्तर्गतको एक प्रमुख कार्यक्रम हो। जसअन्तर्गत वार्षिक कार्यक्रम आयोजन गरेर एसएचजीद्वारा उत्पादित उत्पादहरुको मार्केटिङ उपलव्ध गराउँदै आएको छ। साथै आर्थिक विकासमा सशक्त बनाउने अवसरहरू प्रदान गर्दै आएको छ। यस वर्ष, ४० एसएचजीले जम्मा २० वटा स्टलहरूमा आफ्ना उत्पादनहरू प्रदर्शन गरेका छन्। मन्त्री राईले अन्तर्क्रिया गर्ने क्रममा केन्द्र सरकारको सहयोगमा राज्य सरकारले स्थानीय स्यं सहायता समूहका सदस्यहरुलाई आर्थिक विकासको दिशामा प्रेरित गर्दै आएको बताए। उनले उत्पादहरुको विकास र प्रचार प्रशारमा विभागले जसरी सक्रियता देखाएको छ एसएचजीहरुले पनि गम्भीरता देखाउने सल्लाह दिए।