मेलबर्न: वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) फाइनल म्याचको निम्ति क्रिकेट अष्ट्रेलियाले टीमको घोषणा गऱ्यो। डब्ल्यूटीसी २०२३-२५ चक्रको फाइनलमा अष्ट्रेलियाको भिड़न्त दक्षिण अफ्रिकासँग हुनेछ। फाइनल ११ जूनदेखि ऐतिहासिक लर्ड्सको मैदानमा शुरु हुनेछ। अष्ट्रेलिया वर्तमान च्याम्पियन पनि हो। साल २०२३-मा खेलिएको डब्ल्यूटीसी फाइनलमा अष्ट्रेलियाले भारतलाई पराजित गरी खिताब जितेको थियो। चोटले गर्दा भारतविरुद्ध घरेलु सीरीज खेल्न नसक्ने अलराउण्डर क्यामरन ग्रीन टीममा फर्किएका छन्। यसरी संदिग्ध बलिंग एक्शनले गर्दा केही समयको निम्ति क्रिकेटबाट टाढ़ा रहने स्पिनर म्याट कुहनेम्यानलाई पनि टीममा सामेल गरिएको छ। अष्ट्रेलियाको घरेलु टुर्नामेण्ट शेफील्ड शील्डको फाइनलमा प्लेयर अव् द म्याच रहने ब्रेण्डन डोगेटलाई ट्रेवलिंग रिजर्वमा राखिएको छ। अष्ट्रेलियाई टीममा १५ जना खेलाड़ी रहेका छन्। अलराउण्डर मिचेल मार्शलाई टीमबाट बाहिर गरिएको छ। उनी भारतविरुद्ध घरेलु टेस्ट सीरीजमा टीमको हिस्सा रहेका थिए। यसबाहेक श्रीलंकालाई २-० अनि भारतलाई ३-१-ले पराजित गर्ने कंगारू टीममा अधिक फेरबदल गरिएको छैन।
टीमलाई लगातार दोस्रोपल्ट च्याम्पियन बनाउने जिम्मेवारी प्याट कमिन्सलाई सुम्पिइएको छ। उनले टीमको कप्तानी गर्नेछन्। उनीसँग पेस आक्रमणमा जोश हेजलवुड र मिचेल स्टार्क रहनेछन्। यी तीनजना हालै आईपीएल खेलेर स्वदेश फर्किएका छन् अनि यी खेलाड़ीहरू आईपीएलमा फर्किने सम्भावना कम्ती नै छ। यसबाहेक ब्याकअप् पेस बलरको रूपमा स्कट बोलाण्ड र अलराउण्डर ब्यू वेबस्टर रहनेछन्। यी दुईजनाले भारतविरुद्ध अन्तिम दुईवटा टेस्ट म्याचमा उत्कृष्ट प्रदर्शन गरेका थिए। स्पिन आक्रमणमा कुहनेम्यान र न्याथन लियोन रहनेछन्। यसरी ब्याटिंगको जिम्मेवारी उस्मान ख्वाजा, युवा सेम कोन्स्टास, ट्रेविस हेड, एलेक्स केरी, जोश ईंग्लिश, स्टीव स्मिथ र मार्नस लाबुशेनमाथि रहनेछ।
डब्ल्यूटीसी फाइनलको निम्ति अष्ट्रेलियाई टीम यसप्रकार छः
प्याट कमिन्स (कप्तान), स्कट बोलाण्ड, एलेक्स केरी, क्यामरन ग्रीन, जोश हेजलवुड, ट्रेविस हेड, जोश ईंग्लिश, उस्मान ख्वाजा, सेम कोन्स्टास, म्याट कुहनेम्यान, मार्नस लाबुशेन, न्याथन लियोन, स्टीव स्मिथ, मिचेल स्टार्क, ब्यू वेबस्टर। ट्रेवलिंग रिजर्वः ब्रेण्डन डोगेट।