गान्तोक: आज अपराह्नको समय परेको भारी वर्षाले राजधानी गान्तोकको सिच्छेस्थित ६६/११ केभी पावर सब-स्टेशन मास्तरको जमीन धस्कँदा सब-स्टेशनलाई भारी क्षति पुगेको छ। भूस्खनको कारण पावर सब-स्टेशनको विशेष गरेर फिडर प्यानललाई गम्भीर क्षति पुऱ्याएको छ। प्राप्त जानकारीअनुसार भूस्खलनको घट्ना अपराह्न साढ़े ६ बजीको हो। भारी वर्षाको कारण सब-स्टेशनको नियन्त्रण कक्ष भित्र भल-पानी पसेको छ जसले विद्युतीय उपकरणहरू, ब्याट्री प्रणाली साथै भवनका स्तम्भहरूलाई समेत क्षति पुर्याएको छ।

ऊर्जा विभागले आजको घट्ना बारे जानकारी गराउँदै सब-स्टेशनमा भएको क्षतिको कारण विशेष गरेर तल्लो सिच्छे र राङ्का क्षेत्रमा बिजुली आपूर्तिमा बाधा पुग्ने जानकारी गराएको छ। अर्कोतिर बिजुली आपूर्ति सुचारु गर्न विभागका सचिवदेखि लिएर विभिन्न पदका अधिकारीहरू लागिपरेको पनि थप जानकारी गराइएको छ। तरै पनि पुनर्स्थापनामा केही दिन लाग्नसक्ने विभागको भनाइ रहेको छ।