गान्तोक: भगवान बुद्धको जन्मजयन्तीको अवसरमा आज राज्यको विभिन्न गुम्बामा बुद्ध पूर्णिमा भक्तिभावपूर्वक पालन गरियो। यसक्रममा दक्षिण सिक्किमको याङगाङको छाङछु नियाङपा गुम्बामा बिहानदेखि नै भक्ति कार्यक्रम सम्पन्न भयो। उक्त अवसरमा सिक्किम विधानसभाकी उपाध्यक्ष तथा क्षेत्र विधायक राजकुमारी थापा मुख्य अतिथिका रुपमा उपस्थित थिइन्। यस लगायत मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत लगायत पञ्चायत सदस्यहरू र विभिन्न विभागीय अधिकारीहरुको पनि सहभागिता थियो। गुम्बाका लामा खाण्डुमा अनि अन्य लामाहरूद्वारा पूजापाठ साथै प्रार्थनाबाट शुरु भएको कार्यक्रममा स्थानीय श्रद्धालुहरुले उत्साहका साथमा भाग लिएका थिए। यस अवसरमा एक धार्मिक ऱ्याली पनि आयोजन गरिएको थियो। जसमा विभिन्न स्थानबाट आएका धर्मावलम्बीहरूले टाउकोमा पबित्र ग्रन्थ राखेर गाउँ परिक्रमा गरेका थिए। बुद्ध पूर्णिमा बौध्द धर्मावलम्बीहरूको निम्ति अति नै महत्पूर्ण धार्मिक पर्वको रुपमा मानिन्छ। यसअन्तर्गत स्थानीय याङयाङ गुम्बामा प्रत्येक वर्ष बुद्धको जयन्तीको अवसरमा भव्य धार्मिक कार्यक्रम आयोजन गरिन्छ। आजको कार्यक्रममा उपस्थित धर्मावलम्बीहरुले राज्यको शान्ति, सम्प्रदायिक सदभावना अनि आपसी भाइचाराको प्रार्थना चढाए।