खरसाङ: तीनधारेको मिठाईडाँडास्थित पदमा छ्योलिङ गुम्बामा यसपाली तीन दिवसीय रुपमा भगवान बुद्धको २५६९औं जन्म जयन्ती पालन गरिएको छ। तामाङ बुध्दिष्ट एसोसिएसन तीनधारेको आयोजनामा गत १० मईदेखि शुरु भएको बुध्द जयन्ती समारोहको अन्तिम दिन आज बिहानदेखि साङ्ग सेरगेम (पूजा अर्चना) गरेर थालिएको थियो। त्यसपछि आज भगवान् बुद्धको कु (प्रतिमा) लिएर नगर परिक्रमा गरिएको छ। यस अवसरमा गुम्बा परिसरबाट शान्ति रैली निकालेर तीनधारेको सत्र माइलदेखि क्रिकेट बजार हुँदै राष्ट्रिय राजमार्ग भएर तीनधारेको ब्लु डाईमण्ड परिसरसम्म पुगेर फर्किएको थियो। त्यसरी नै तीनधारेको राजबारी भएर ओह्रालो झरेर गोलाई पाखा हुँदै सत्र माइल फाटक भएर पुनः मिठाईडाँडास्थित गुम्बामा पुगेर शान्ति रैली समापन गरिएको थियो। यसावधि मानिसहरुले बुध्दको कु (प्रतिमा) साथै बौध्द धर्म ग्रन्थ बोकेर शान्तिको कामना गर्दै रैलीमा सहभागिता जनाएका थिए। यसवाधि ठाउँ ठाउँमा मानिसहरूले बुध्दको प्रतिमाको दर्शन गरेका थिए भने रैलीमा सहभागिता जनाउने मानिसहरूलाई चिसोहरु वितरण गरिएको थियो।

सन् १९४६ सालमा स्थापना भएको तीनधारेको मिठाईडाँडास्थित पदमा छ्योलिङ गुम्बामा लगातार रुपमा बुध्द जयन्ती समारोह पालन गर्दै आईरहेको छ भने यसपाली पनि भगवान बुद्धको २५६९औं जन्म जयन्ती भक्तिभावको साथमा पालन गरिएको छ। तीनधारेको मिठाईडाँडास्थित पदमा छ्योलिङ गुम्बामा यसपाली तीन दिवसीय बुध्द जयन्ती समारोह अन्तर्गत पहिलो दिन १० मईमा प्रमुख लामा म्हम्हे बुम्बा डुम्जनको बाहुलीबाट पूजा अर्चना गरेर शुरु गरिएको थियो भने गुम्बामा उम्जेको पदमा लामा साङ्गे योञ्जनलाई आसिन गराएर सम्मान जनाइएको थियो। त्यसरी नै दोस्रो दिन पूजा अर्चनासहित डोल्मा पूजा आयोजना गरिएको थियो। तेस्रो तथा अन्तिम दिन बुध्द जयन्तीको अवसरमा साङ्गे सेरगेम (पूजा अर्चना) गरेर शुरु गरेर नगर परिक्रमा पनि गरिएको थियो। उक्त रैलीमा गुम्बाको लामा म्हम्हेहरु, म्हाणिमा संघको सदस्याहरु, नानीहरु, विभिन्न धर्मावलम्बीहरु साथै तामाङ बुध्दिष्ट एसोसिएसन तीनधारेको सभापति प्रेम योञ्जन, उप सभापति बुध्द योञ्जन, सचिव महेन्द्र तामाङ, सह सचिव सन्तोष लामा, कोषाध्यक्षा शान्ता तामाङ, प्रमुख संरक्षक प्रमुख लामा बुम्बा डुम्जन, संरक्षक मिना योञ्जन, छवाङ योञ्जन लगायत अन्यहरु उपस्थित रहेका थिए।

उक्त शान्ति रैली मिठाईडाँडास्थित पदमा छ्योलिङ गुम्बामा पुगेर समापनको साथै प्रमुख लामा बुम्बा डुम्जन, लामा साङ्गे योञ्जन, सुमन मोक्तान, अनित मोक्तान लगायत अन्य लामाहरुले पूजा अर्चना गरेका थिए। त्यसपछि गुम्बाको नजिक मिठाईडाँडा खेल मैदानमा प्रसाद वितरण गरिएको छ। त्यसपछि गुम्बाको मुख्य लामा म्हम्हे बुम्बा डुम्जनको बाहुलीबाट वाङ् वितरण गरिएको छ। यस अवसरमा पत्रकारहरुलाई सम्बोधन गर्दै तामाङ बुध्दिष्ट एसोसिएसन तीनधारेको सह सचिव सन्तोष लामाले विस्तृत रुपमा जानकारी गराएका छन्।