१३ सेप्टेम्बरः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा एमएमएफसी निरपानिया च्याम्पियन बन्यो। सिमुलबारी खेल मैदानमा मंगलवार खेलिएको फाइनल म्याचमा एमएमएफसी निरपानियाले एसएसबी रानीडांगालाई २-०-ले पराजित गऱ्यो। विजेता टोलीबाट मार्टिनले १८औं अनि बीग बी-ले ३६औं फ्री किकमा गोल गरी एमएमएफसीको जीत सुनिश्चित गरे।

म्याचमा एसएसबीको टोलीले पनि गोल गर्ने मौकाहरू पाएको थियो तर उनीहरूले सफलता चाहिँ हासिल गर्न सकेनन्। आज फाइनलमा मुख्य अतिथिको रूपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-का मुख्य कार्यपाल अनिल थापा उपस्थित थिए। टुर्नामेण्टमा विजेता हुने टोलीलाई ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै उपविजेता हुने टोलीलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

आज समापन समारोहमा आयोजक सिमुलबारी स्पोर्टिंग क्लबका सचिव सञ्जय सिंह, अध्यक्ष बिजेन्द्र छेत्री, उपाध्यक्ष परेश तिर्की (सभासद), संयुक्त सचिव राज राईसहित अन्य सदस्यहरूका सक्रिय भूमिका रहेको थियो। गत २३ अगस्तदेखि शुरु भएको यस टुर्नामेण्टमा जम्मा २० वटा नामी-दामी टीमले हिस्सा लिएको थियो।

संक्षिप्तमाः
च्याम्पियनः एमएमएफसी निरपानिया
रनरअप्ः एसएसबी रानीडांगा
प्लेयर अव् द म्याचः मार्टिन (एमएमएफसी)
प्लेयर अव् द टुर्नामेण्टः आदर्श तामाङ (दार्जीलिङ पुलिस)
बेस्ट गोलकीपरः निमडुप लेप्चा (एमएमएफसी)
बेस्ट गोल अव् द टुर्नामेण्टः बीग बी (एमएमएफसी)
एमर्जिंग प्लेयर अव् द टुर्नामेण्टः सतीश राई (यूकेएफसी)
फेयर प्ले ट्रफीः मिक्स्ड अप् बोइज, खरसाङ










