पीसीएस र आइपीआर-को पहलमा मिडिया कन्क्लेव “सिक्किम एट फिफ्टी” आयोजना गरिने

IMG-20250511-WA0204

गान्तोक: सिक्किम राज्य प्राप्तिको ५०औं वर्षगाँठ तथा स्वर्णजयन्तीको अवसरमा प्रेस क्लब अफ् सिक्किम (पीसीएस)ले राज्य सरकारको सूचना एवं जनसम्पर्क विभाग (आइपीआर) सितको सहकार्यमा आगामी १३ मईको दिन राजधानीमा सिक्किम एट फिफ्टी शिर्षक दिएर एक दिवसीय मिडिया कन्क्लेव आयोजना गर्ने भएको छ। प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष भीम रावतले आज पत्रकार सम्मेलन गरेर यो जानकारी दिएका हुन्। कन्क्लेव आयोजना गर्नुको उद्देश्य प्रजातन्त्र प्राप्तिपछि अहिलेसम्मको 50 वर्षमा सिक्किमले विभिन्न क्षेत्रमा प्राप्त गरेका उपलब्धीहरू अनि आगामी वर्षहरूमा गर्नुपर्ने कामहरूमाथि चर्चा-परिचर्चा गर्नु रहेको उनले बताए। यो कार्यक्रम गर्नको निम्ति सूचना एवं जनसम्पर्क विभागमार्फत सिक्किम सरकारले सहयोग गरेको अनि विशेष गरेर मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शनमा कार्यक्रम आयोजना भइरहेको पनि उनले थप बताए। मुख्यमन्त्री तामाङ यस मिडिया कन्क्लेवका प्रमुख संरक्षक पनि हुन्।
दिनभरि चल्ने कन्क्लेव तीन चरणमा आयोजना गरिने भएको छ। प्रेस क्लब अफ् सिक्किमका सांस्कृति सचिव निर्मल मगरले बताएअनुसार पहिलो चरण प्रजातन्त्र प्राप्तिपछि सिक्किम राज्यले आफ्नो छुट्टै पहिचान कायम राख्दै अहिलेसम्म विभिन्न क्षेत्रमा प्राप्त गरेका उपलब्धीहरूमाथि केन्द्रित रहनेछ। यसमा वरिष्ठ पत्रकार कुनाल सेनगुप्ता, प्रोफेसर महेन्द्र पी लामा र वरिष्ठ पत्रकार कर्मा पाल्जोर पेनलिस्ट रहनेछन्। यस सत्रलाई वरिष्ठ पत्रकार पेमा वाङ्गचुकले मोडरेट गर्नेछन्। यसरी नै दोस्रो सत्रमा सिक्किम राज्यमा विभिन्न क्षेत्रमा लगानीको सम्भावनामाथि रहनेछ। यसको पेनलिस्टहरूमा ट्राभल जर्नलिस्ट जमाल शेख, मेरियट्स ग्रुपका उपाध्यक्ष अजय बालाकृष्णन र सिक्किम सरकारको पर्यटन विभागका अतिरिक्त मुख्य सचिव सीएस राव रहनेछन्। यस सत्रलाई पत्रकार कर्मा पाल्जोरले सञ्चालन गर्नेछन्। अन्तिम सत्र भने विशेष सत्र रहने जसमा सम्भवतः मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष उपस्थित रहने थापाले बताए।
प्रेस क्लब अफ् सिक्किमले जानकारी गराएअनुसार कन्क्लेवको उद्घाटन समारोहमा राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथि रहनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement