स्यारी क्षेत्रमा नशाखोर र बिक्रेताहरुलाई विधायक लाम्थाको लाखेस

IMG-20250511-WA0200

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गनिर्देशनमा तथा स्यारी समष्टिका विधायक तेन्जिङ नोर्बू लाम्था अथक प्रयासमा नशामुक्त सिक्किम अभियानअन्तर्गत आजदेखि नशालु पदार्थ बेचबिखन, ओसारपसार तथा सेवनविरूद्व विराट ऱ्याली निकालियो। ऱ्यालीले यस प्रकारका कार्यमा संलग्न दोषीहरुविरूद्ध कडा कार्वाही गर्नुपर्ने माग उठाउँदै चेतावनीसमेत गराएको छ। यस अभियानलाई आमाको आँसु पुछ्ने लाठी नाम दिँदै सचेतनामुलक कार्यक्रम शुरू गरियो। चानमारी ट्याक्सी स्ट्याण्ड परिसरमा आयोजित कार्यक्रममा क्षेत्र विधायक तेन्जिङ नोर्बू लाम्था मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए। आफ्नो सम्बोधनमा विधायक लाम्थाले मुख्यमन्त्रीको परिकल्पनामा शुरू गरिएको यस अभियानलाई सफल पार्न सबै नागरिक समुदायलाई आह्वान गर्दै नशामुक्त भारत, नशामुक्त सिक्किम र नशामुक्त स्यारीको अवधारणाको उल्लेख गरे। आज विश्व मातृ दिवसको छेक पारेर यो अभियान शुरू गरिएको जानकारी गराउँदै ड्रग्स आज देश र समाजको निम्ति चिन्ता साथै चुनौतीको विषय बनेको बताए। नशालु पदार्थको बेचबिखन, ओसार पसार र सेवन गर्नेहरुविरूद्व कडा नजर राखिने जनाउँदै जसको निम्ति एउटा गोप्य टीम गठन गरिने बताए। नशालु पदार्थको लतमा लागेकाहरूलाई पहिचान गरी उनीहरूको उपचार गर्ने जानकारी गराउँदै स्यारी क्षेत्रमा नशालु पदार्थको बेचबिखन गर्नेहरूलाई लाखेस गराए। यदि कसैको पनि घरमा नशालु पदार्थको बेचबिखन हुने गरेको थाह पाए त्यो घरको पानी, विजुली काटिने र कुनै पनि प्रकारको सरकारी सहुलियतहरू पनि वितरण नगरिने चेतावनी दिए। शून्य सहिष्णुता अप्नाउँदै ड्रग्सको धन्दामा लिप्त हुनेहरूमाथि कडा कार्वाही गरिने बताए। यसैगरी कुनै पनि दोकानले नशालु पदार्थ बिक्री गरेको थाह लागेमा त्यो दोकानको लाईसेन्स पनि रद्ध गरिने जनाए। यसक्रममा गान्तोक सदर थानाका एसएचओ डीपी सुब्बाले एनडीपीएस ऐन १९८५ र साडा ऐनबारे विस्तृतमा जानकारी गराए भने परामर्शदाता केसी निमा र समाज कल्याण विभागका अतिरिक्त निर्देशक महेश शर्माले नशालु पदार्थको सेवन र बेचबिखनले समाजमा पार्ने नकारात्मक असरहरूबारे प्रकाश पारेका थिए। यस अवसरमा अप्पर स्यारीका विद्यार्थीहरूले नशालु पदार्थको दुर्व्यसनीमाथि एक सचेतनामुलक नाटक पनि प्रस्तुत गरेका थिए। यसपछि चानमारी ट्याक्सी स्ट्याण्डदेखि दिछिलिङसम्म एक सचेतनामूलक नाराका साथ ऱ्याली निकालिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement