कोलकाता: सन् २०२१ को विधानसभा चुनावमा बङ्गाल जित्ने सपना देखेको भाजपाले गतिलो हारको सामना गरेपछि टीएमसीविरुद्ध विभिन्न आरोपहरु लगाउँदै अभियान चलाइरहेको छl टीएमसीसित हारको सामना गरेपछि भाजपाले कथित भ्रष्टाचारलाई आफ्नो मुद्दा बनाएको छl कथित भ्रष्टाचारको विरूद्ध भाजपाले ‘नबन्ना चलो’ अभियान शुरु गरेको छl राज्यको सचिवालय नवान्न घेर्ने अभियानको क्रममा भाजपाका नेता एवं राज्यका विधानसभाका विपक्षी नेता शुभेन्दु अधिकारीलाई पुलिसले नियन्त्रणमा लिएको छl शुभेन्दु अधिकारीले बङ्गाललाई उत्तर कोरिया बनाएको आरोप लगाएका छन्। शुभेन्दु अधिकारीबाहेक भाजपा नेता तथा सांसद लकेट च्याटर्जी र पार्टी नेता राहुल सिन्हालाई पनि हिरासतमा राखेर जेल भ्यानमा लगिएको थियो। उनीहरुलाई सचिवालय नजिकैको ‘सेकेन्ड हुग्ली ब्रिज’ नजिकैको पुलिस ट्रेनिङ स्कुल अगाडि रोकेको थियो। वास्तवमा नवान्न घेर्ने अभियानमा भाग लिन राज्यभरका भाजपा समर्थकहरू मङ्गलबार बिहान कोलकाता साथै हावडा पुग्न थालेका थिए।
उनले संचारमाध्यमलाई भने, ‘मुख्यमन्त्री ममता ब्यानर्जीलाई आफ्ना जनताको समर्थन छैन, त्यसैले उनले बङ्गालमा उत्तर कोरियाजस्तो तानाशाही लागू गरिरहेकी छिन्। पुलिसले सोमबारदेखि के गरिरहेको छ, त्यसको मूल्य चुकाउनु पर्नेछl’ कोलकाता पुलिसले भाजपाको नवान्न चलो मार्चको अगाडि कोलकातामा राज्य सरकारको नयाँ सचिवालय नजिक हेस्टिंग्समा ब्यारिकेड लगाएको छ। यसअघि मङ्गलबार नवान्न अभियानमा सहभागी हुन कोलकाता जाँदै गरेका कार्यकर्ताहरू रानीगञ्ज रेलवे स्टेशन बाहिर भाजपा कार्यकर्ता र पुलिसबीच झडप भएको थियो। रानीगञ्जमा पुलिसले धेरै कार्यकर्तालाई निवारक हिरासतमा लिएको छ। यसबाहेक, जब पुलिसले कार्यकर्ताहरूलाई नवान्न चलो अभियानमा भाग लिन कोलकाता जानदेखि रोकेको थियो, बोलपुर रेलवे स्टेशन भित्र भाजपा कार्यकर्ता र पुलिस बीच झडप भएको थियोl










