गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतमा हिजो बसेको एक उच्चस्तरीय बैठकले जुन निर्णय पारित गरेको थियो। त्यसलाई त्वरित कार्यवाही गर्दै आपतकालीन स्थितिको तयारीबारे गान्तोक जिल्लाका जिल्लापालले आज एक भर्चुअल बैठक डाकेका छन्। बैठकमा गान्तोक जिल्ला पुलिस अधीक्षक तेञ्जिङ लोडे लेप्चा लगायत अन्य परिष्ठ अधिकारीहरुको सहभागिता थियो। वर्तमान देशको अवस्थालाई ध्यानमा राख्दै राज्यका नागरिकहरूलाई आपतकालीन स्थितिमा सावधानी अप्नाउने विभिन्न तयारीबारे छलफल भएको थियो। जसमा साइरन र आपतकालीन सञ्चालन केन्द्र उपलब्धता र यसको निम्ति पूर्वाधारहरुको तयारीबारेमा जोड़ दिइएको थियो। राज्यका सबै ग्रामीण क्षेत्र र शहरी क्षेत्रहरुमा साइरन लगाउने निर्णय गरेको छ। सोही प्रकारले आपतकालीन सेवाको निम्ति सहायता नम्बर ११२ र ०३५९२-२०४९९५ जारी गरेको छ। यस नम्बरलाई आममानिसहरूसमक्ष सूचना पुऱ्याउनको निम्ति नगर निगमका आयुक्त, सिङताम नगर पञ्चायत र खण्ड विकास अधिकारीहरूलाई दायित्व सुम्पिएको छ। यस विषयलाई लिएर पार्षदगण, पञ्चायतगणबीच शीघ्र एक बैठक आयोजना गर्दै वर्तमान देशको अवस्थाबारे जानकारी गराउनु पर्ने साथै साइरन र व्ल्याक आउटको पालन गर्नुपर्ने निर्णय लिएको छ। यस अवस्थामा आवश्यक खाद्य सामग्री र एलपीजी ग्यासको मूल्यमा कालोबजारीमाथि निगरानी राख्न्ने निर्देश दिएको छ।