गान्तोक: राज्यमा बढदो नशालु पदार्थको कारोबारीलाई नियन्त्रण गर्न सिक्किम पुलिसले गत केही वर्षदेखि सक्रियरूपमा भूमिका निर्वाह गर्दै आइरहेको छ। पुलिसले शुरू गरेको अभियानअन्तर्गत धेरैजना नशाखोर र कारोबारीहरु पक्राउ परेका छन्। यस क्रममा आज नाम्ची पुलिसले २१.८९ ग्राम हेरोइनसंगै एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी नाम्ची जिल्लाको भोटिया बस्ती निवासी दीप गुप्तकोरूपमा चिन्हित गरेको छ। पुलिसले थप जानकारी गराएअनुसार आज जफ्त गरिएको नशालु पदार्थको मूल्य १ लाख ५ हजार बराबरको रहेको छ। पुलिसले आरोपी गुप्तको घऱमा छापा मार्ने क्रममा नशालु पदार्थ फेला पारेको थियो। आरोपी गुप्तविरूद्ध नाम्ची पुलिसले एनडीपीएस एक्ट १९८५ अन्तर्गत प्राथमिकी दर्ता गर्दै केरकार गरिरहेको छ।