गान्तोक: सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश विश्वनाथ सोमद्दरले आज सोरेङ जिल्लाको जिल्ला सत्र न्यायालयको भ्रमण गरे। यस अवसरमा उनले सोरेङ जिल्लामा भवन तथा आवास विभाग, वन विभाग र परियोजनाको वास्तुकला टोलीका अधिकारीहरूसँग मिलेर जिल्ला सत्र न्यायलय परिसरको स्थलगत भ्रमण गरे। भ्रमणको क्रममा मुख्य न्यायधीशले जिल्ला सत्र न्यायालयमा पूर्वाधार विकासमाथि मापदण्डहरू पूरा गरेको उल्लेख गरे। उनले न्यायालय परिसरमा समावेश गरिने वास्तुकला, पूर्वाधार योजना र सुविधाबारेमा विस्तृतरूपबारे जायजा लिए। मुख्य न्यायाधीशले सम्बन्धित अधिकारीहरूलाई परियोजना निर्धारित समयअवधिमै पुरा गर्ने निर्देश दिए। यस अवसरमा मुख्य न्यायाधीशले मेगीडाँडामा रहेको रिञ्छेन छ्योलिङ गुम्बाको पनि भ्रमण गरे। सोही प्रकारले उनले रिम्पोछे टुल्कु साङ्गे योङतेन ग्याछोसँग भेट गर्दै गुम्बा सञ्चालन समितिका सदस्यहरूसँग अन्तर्क्रिया गरे। अन्तक्रियाको क्रममा गुम्बा समितिका सदस्यहरूले मुख्य न्यायाधीशलाई गुम्बाको इतिहास र सांस्कृतिक महत्वबारे जानकारी गराए।