सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्ती महोत्सवमा ‘रन फर यूनिटी’

IMG-20250509-WA0263

गान्तोक: सिक्किम राज्य स्थापनाको ५०औं वर्षगाँठ महोत्सवको एक भागको रुपमा आज राज्यका विभिन्न स्थानमा रन फर यूनिटी कार्यक्रम आयोजन गरियो। यसक्रममा नाम्ची जिल्ला खेलकूद एवं युवा मामिला विभागको पहलमा आज रन फर यूनिटी आयोजना गरियो। यस प्रतियोगितामा १६ वर्ष भन्दा कम उमेरका १५० जना किशोरहरूसहित विभिन्न विद्यालयका विद्यार्थीहरूले अंशग्रहण गरेका थिए। कार्यक्रमको मुख्य उद्देश्य युवाहरूलाई शारीरिकरूपमा स्वास्थ्यबारे जागरुकता गर्नु थियो। उक्त अवसरमा नाम्ची नगर परिषदकाका पार्षद पेम नोर्बू भोटिया मुख्य अतिथिकारूपमा उपस्थित थिए। नाम्ची जिल्लाकी अतिरिक्त जिल्लापाल तिरसाङ तामाङ,, नाम्ची फुटबल एसोसिएशनका अध्यक्ष बसन्त योञ्जनलगायत खेलकूद एवं युवा मामिला विभागका अधिकारीहरूको पनि सहभागिता थियो। सोही प्रकारले मंगन जिल्लाको खेलकूद एवं युवा मामिला विभागको पहलमा रन फर यूनिटी कार्यक्रम आयोजना गरियो। सिक्किम भारतमा विलय भएको पाँच दशकको यात्रामा राज्यले गरेको प्रगतिबारे जानकारी गराउनु रहेको थियो। यस कार्यक्रममा मंगन जिल्लाका विभिन्न स्थानमा स़ञ्चालित विद्यालयहरूबाट कूल १५० विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए। मंगन जिल्लाका जिल्ला पञ्चायत अध्यक्ष कादो लेप्चाले झण्डा हल्लाएर टोलीलाई प्रस्थान गराएका थिए। साथै मंगन नगर पञ्चायत अद्यक्ष नोर्कित लेप्चा, पार्षदगण लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यसैगरि पाकिम जिल्लापाल रोहन अगवानेले पाकिम बजारबाट झण्डा हल्लाएर धावकहरूलाई प्रस्थान गराए। यस प्रतियोगितामा पाकिम जिल्लाअन्तर्गत विभिन्न विद्यालयका कूल २ सयजना विद्यार्थीहरूले अंशग्रहण गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल अगवानेले सिक्किम भारतमा विलय भएको ५०औं वर्षगाँठको अवरसमा एकताको प्रतिककोरूपमा आयोजन गरेको बताए। उनले थप जानकारी गराएअनुसार प्रतियोगिताले राष्ट्रको एकता र विविधतालाई प्रतिनिधित्व गर्नेछ, जसले सबै सहभागीहरूलाई एकताको भावनातिर प्रोत्साहित गर्नेछ। सोही प्रकारले खेलकूद एवं युवा मामिला विभागका सहायक निर्देशक रोबर्ट लेप्चाले रन फर यूनिटीको अन्तिम चरणको प्रतियोगिता आगामी १६ मईको दिन हुने बताए। आगामी १६ मईको दिन हुने उक्त प्रतियोगितामा राज्यको छवटा जिल्लाबाट छनौट भएका सहभागीहरूले अंशग्रहण गर्ने जानकारी गराए। यस कार्यक्रमको एक भागकोरूपमा विद्यार्थीहरूले ताइक्वाण्डो प्रदर्शनी प्रस्तुत गरेका थिए। सोही प्रकारले गेजिङ जिल्लाको क्योङसामा पनि रन फर यूनिटी कार्यक्रम आयोजना गरियो। जसमा २०५ जनाले सहभागिता जनाएका थिए। उक्त कार्यक्रममा गेजिङ जिल्लाका अतिरिक्त जिल्लापाल सुरत गुरूङ मुख्य अतिथिकोरूपमा उपस्थित थिए। कार्यक्रममा गेजिङ जिल्लाका विभिन्न अस्पतालका चिकित्सक, पुलिस अधिकारी, विभिन्न विद्यालयका प्रमुख, शिक्षकवर्ग, विद्यार्थीवर्ग र विभिन्न विभागका अधिकारीहरूले अंशग्रहण गरेका थिए। यसक्रममा सोरेङ जिल्लामा पनि रन फर यूनिटी कार्यक्रम आयोजन गरियो। सोरेङ जिल्लाको खेलकूद एवं युवा मामिला विभाग र शिक्षा विभागको संयुक्त पहलमा आयोजना गरिएको प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयबाट कूल १५० जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए। सोरेङ जिल्लाको जौटार खेल मैदानमा आयोजित सो कार्यक्रममा महकुमा अधिकारी साक्छुम लेप्चा मुख्य अतिथि थिए। यसका साथै जिल्ला पञ्चायत अध्यक्ष दिना सुब्बालगायत विभिन्न विभागका अधिकारीहरू पनि सामेल रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि लेप्चाले दैनिक जीवनमा खेलकूद र शारीरिक स्वास्थ्यको महत्त्वमाथि प्रकाश पार्दै सिक्किमले ५०औं राज्य स्थापना वर्षगाँठ मनाइरहेको जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement