गान्तोक: हाल भारत र पाकिस्तान बीच सम्भावितः युद्धको स्थितिलाई ध्यानमा राखेर राज्यको सुरक्षा संवेदनशीलता र सम्भावित सङ्कटको मूल्याङ्कन गर्न मुख्यमन्त्री प्रेमसिंह तामाङले एक उच्चस्तरीय बैठक गरे। सम्मान भवनमा बसेको बैठकमा प्रमुख प्रशासक, मुख्य सचिव साथै विभिन्न विभागका प्रमुख अधिकारीहरूसँगै सबै जिल्लाका जिल्लापाल र पुलिस अधीक्षकको उपस्थिति रहेको थियो।
बैठकमा मुख्यमन्त्रीले राज्यको समग्र सुरक्षालाई मध्यनजर राखेर सबै विभागलाई स्पष्ट र ठोस निर्देशन दिएका छन्। ऊर्जा विभागलाई सम्भावित विद्युत अवरोधको पूर्वतयारीका लागि आकस्मिक अभ्यास सञ्चालन गर्न र आम नागरिकमा ब्ल्याकआउटको अवस्था सम्बन्धी जनचेतना अभिवृद्धि गर्न भनिएको छ। यसरी नै सड़क तथा पुल विभागलाई सबै महत्त्वपूर्ण मार्ग तथा संरचनाहरूको स्थायित्व सुनिश्चित गर्दै पूर्ण सञ्चालन अवस्थाको ग्यारेन्टी गर्न निर्देशन दिइएको छ।
मुख्यमन्त्रीले स्वास्थ्य विभागलाई राज्यभरि सतर्कता कायम राख्न, अस्पतालहरूमा आवश्यक उपकरण, औषधि तथा जनशक्ति सुनिश्चित गर्न र अत्यावश्यक सेवा निरन्तर उपलब्ध गराउन निर्देश दिएका छन्। खाद्य तथा नागरिक आपूर्ति विभागलाई अत्यावश्यक वस्तु र इन्धनको पर्याप्त भण्डारण गर्न र वितरण प्रणालीमा कुनै अवरोध नआउने व्यवस्था मिलाउन आदेश दिइएको छ।
यसरी नै पुलिस तथा सुरक्षा निकायहरूलाई विशेष गरी सीमावर्ती क्षेत्रमा निगरानी बढाउन, आन्तरिक सुरक्षा संयन्त्रलाई मजबुत बनाउन र इण्डियन रिजर्भ बटालियन (आइआरबी) तथा सिक्किम सशस्त्र प्रहरी (एसएपी) सँग नियमित अभ्यास र तालिम सञ्चालन गर्न भनिएको छ। यसको साथै आपदा व्यवस्थापन विभागलाई राज्यभरि साइरन प्रणाली सक्रिय राख्न र तालिमप्राप्त जनशक्ति तुरुन्त परिचालन गर्न सक्ने व्यवस्था सुनिश्चित गर्न निर्देशन दिइएको छ।
उच्चस्तरीय बैठक बारे जानकारी दिंदै मुख्यमन्त्रीले कुनै पनि सङ्कटको सामना गर्न सिक्किम सरकार पूर्णरूपमा तयार रहेको साथै राज्यको सुरक्षा, सेवा र शान्तिको प्रत्याभूति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन्। यसको साथै उनले आम नागरिकलाई संयमित रहन, आधिकारिक सूचनामा भर पर्न, प्रशासनसँग सहयोग गर्न र सामाजिक सञ्जालमा असत्य सूचना नफैलाउन आग्रह गरेका छन्।
सिक्किमको अन्तर्राष्ट्रिय सीमासँगको निकटता र रणनीतिक अवस्थालाई ध्यानमा राख्दै मुख्यमन्त्रीले राष्ट्रिय सुरक्षाप्रतिको प्रतिबद्धता पनि दोहोर्याएका छन्। “जनताको सुरक्षासँगै राष्ट्रको सुरक्षाप्रति पनि हाम्रो कर्तव्य उत्तिकै महत्वपूर्ण छ। यसका लागि हामी कुनै सम्झौता गर्नेछैनौं”, उनले भनेका छन्।
आजको बैठकमा राजनीतिक सचिव जेकब खालिङ, क्याबिनेट सचिव भीबी पाठक, मुख्य सचिव आर तेलाङ, पुलिस महानिदेशक अक्षय सचदेवा साथै स्वास्थ्य, ऊर्जा, खाद्य तथा नागरिक आपूर्ति, सडक तथा पुल, भू–राजस्व एवं आपदा व्यवस्थापन लगायतका विभाग प्रमुखहरू सहभागी थिए।