सिटिजन एक्शन पार्टी, सिक्किमले गऱ्यो समीक्षा बैठक

IMG-20250506-WA0309

गान्तोक: चालक परिषद अध्यक्ष आशिष राईमाथि हिजो भएको प्राणघातक आक्रमणको घट्नामाथि समीक्षा गर्न सिटिजन एक्शन पार्टी, सिक्किमको एउटा बैठक आज रम्फूस्थित क्षेत्रीय कार्यालयमा बस्यो। बैठकलाई पार्टीका अध्यक्ष गणेश कुमार राईले अध्यक्षता गरेका थिए। बैठकले हिजोको आक्रमणलाई लोकतन्त्र, मानवाधिकार र नागरिक सुरक्षामाथिको खुल्ला प्रहारको रुपमा लिँदै घोर भत्सर्ना जनाइएको पार्टीले विज्ञप्ती जारी गरेर बताएको छ। यस घट्नाले सिक्किम राज्यको शान्ति र सद्भावनामा ठूलो चुनौती सिर्जना गरेको पार्टीको भनाइ रहेको छ।
हिजोको घट्नालाई लिएर राज्यको सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चाले प्रेस विज्ञप्ती जारी गरेर विरोध जनाएको बारेमा टिप्पणी गर्दै आफै धामी, आफै बोक्सी-को नाटक गरेको सिटिजन एक्शन पार्टी, सिक्किमको भनाइ रहेको छ। दोषीलाई जोगाउने, घट्नालाई मोड़ने र जनतालाई भ्रमित पार्ने कशरत अब चल्नेछैन, विज्ञप्तीमा भनिएको छ। प्रजातन्त्रमा विपक्षीलाई दुश्मन जस्तो होइन तर तेस्रो दृष्टिको रुपमा हेर्नुपर्ने पार्टीको भनाइ रहेको छ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष गणेश राईले सिटिजन एक्शन पार्टी, सिक्किमलाई कानून र न्यायिक प्रक्रियामाथि पूर्ण विश्वास रहेको बताउँदै भोलिसम्म दोषीहरूलाई पहिचान गरी कानुनी प्रकिया अघि बड़ाउने आशा व्यक्त गरेका छन्। यदि त्यसो नभएको खण्डमा जनताको पक्षमा सड़कमा उत्रने चेताउनी पनि दिएका छन्। यदि कानून बोल्दैन भने अब जनता बोल्नेछ। अन्याय विरुद्ध हामी मैदानमा छौं, पार्टीले विज्ञप्तीमा भनेको छ।
बैठकमा पार्टीका सबै परिषदका पदाधिकारी अनि कार्यकर्ताको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement