गान्तोक: मंगन जिल्ला विकास समन्वय तथा अनुगमन समिति (दिशा) को बैठक आज जिल्ला प्रशासनिक केन्द्रको प्रेक्षागृहमा सम्पन्न भयो। उक्त बैठकको अध्यक्षता लोकसभा सासंद इन्द्रहाङ सुब्बाले गरेका थिए। यस अवसरमा मन्त्री साम्डुप लेप्चा, जिल्लापाल अनन्त जैन लगायत अन्य जिल्ला अधिकारीहरुको उपस्थिति थियो। बैठकलाई सम्बोधन गर्दै जिल्लापाल जैनले भाइब्रेन्ट गाउँको प्रगतिबारे विस्तृतरूपमा जानकारी गराए। उनले मंगन जिल्लामा केन्द्र सरकारका योजनाहरूको कार्यान्वयनको प्रगतिबारे प्रकाश पारे। सोही प्रकारले बैठकलाई सम्बोधन गर्दै लोकसभा सांसद सुब्बाले केन्द्र सरकारद्वारा शुरू गरिएको विभिन्न योजनाबारे जानकारी गराए। उनले उक्त योजना कार्यान्वयन प्रक्रियामा संलग्न विभिन्न निकायबीच समन्वयको लागि आह्वान गरे। यसक्रममा मन्त्री लेप्चाले विकास प्रक्रियामा बाधा पुऱ्याउने विभिन्न विषयमाथि जानकारी गराए। यसका साथै उनले लाचेन मंगन निर्वाचन क्षेत्रसँग सम्वन्धित योजनाबारे जानकारी लिए। मन्त्री लेप्चाले आफ्नो सम्बोधनमा मंगन जिल्लालाई विकासका सबै क्षेत्रमा अघि बढाउन छलफलसंगै भविष्यका लागि रोडम्याप तयार गर्ने मञ्च रहेको बताए। उनले जिल्लाका अधिकारीहरूलाई विकास कार्यमा सक्रिय हुन, दुर्गम क्षेत्रहरूमा विशेष ध्यान केन्द्रित गर्दै जनताको सेवा गर्न आफ्नो स्रोतको अधिकतम उपयोग गर्ने आग्रह गरे।