नीरज चोपड़ा क्लासिक ज्याभलिन थ्रो प्रतियोगिताको निम्ति टिकटहरूको बिक्री शुरु

IMG-20250506-WA0199

बेंगलुरु: नीरज चोपड़ा क्लासिकको टिकटहरूको बिक्री शुरु भएको छ। आयोजकहरूले सोमवार यसको घोषणा गरे। यस ज्याभलिन थ्रो प्रतियोगितामा नीरज चोपड़ा, थोमस रोहलर र एण्डरसन पीटर्ससहित एकाधिक ओलम्पिक पदक विजेता खेलाड़ीहरूले हिस्सा लिनेछन्। यो भारतमा हुने ज्याभलिन थ्रो खेलको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ। एनसी क्लासिक टुर्नामेण्ट २४ मईदेखि बेंगलुरुमा शुरु हुनेछ। आयोजकहरूद्वारा जारी विज्ञप्ति अनुसार, टिकटहरूको मूल्य १९९ रुपियाँदेखि ९९९९ रुपियाँसम्म रहेको छ। जोमेटो यस प्रतियोगिताको आधिकारिक टिकट भागीदार हो। विज्ञप्ति अनुसार, ४४९९९ रुपियाँ मूल्यको पाँचवटा कर्पोरेट बक्स टिकट पनि उपलब्ध रहेको छ। कर्नाटक ओलम्पिक संघ (केओए) र युवा सशक्तिकरण र खेल विभाग (डीवाईईएस) सहित राज्य संघ र सरकारी निकायहरूले विश्व स्तरीय प्रतियोगिताको आयोजन गर्न कर्नाटक सरकारसँग मिलेर काम गरिरहेको छ। प्रतियोगिताको आयोजन बेंगलुरुको कान्तिरावा स्टेडियममा हुनेछ। वर्ल्ड एथलेटिक्सद्वारा यस प्रतियोगितालाई श्रेणी ए-को दर्जा दिइएको छ।
यस कार्यक्रमको आयोजन नीरज र जेएसडब्ल्यू स्पोर्ट्सद्वारा भारतीय एथलेटिक्स महासंघ (एएफआई) र वर्ल्ड एथलेटिक्सको सहयोगमा संयुक्त रूपले गरिनेछ। यसमा शीर्ष वैश्विक र भारतीय ज्याभलिन थ्रो एथलीटहरूले हिस्सा लिनेछन्। पीटर्सले २०२४ पेरिस ओलम्पिकमा काँस्य पदक जितेका थिए अनि रोहलरको साथमा केन्याका जूलियस येगो (२०१६ रियो ओलम्पिकमा रजत पदक विजेता तथा २०१५ वर्ल्ड च्याम्पियनशीपमा स्वर्ण पदक विजेता) र अमेरिकाका कर्टिस थम्पसनले पनि भागीदारीको पुष्टि गरेका छन्। यसको साथमा एशियन गेम्सका काँस्य पदक विजेता जापानका जेनकी डीन र श्रीलंकाका उदीयमान एथलीट रुमेश पथिरेज पनि विदेशी खेलाड़ीहरूमा सामेल हुनेछन्। नीरजले यस प्रतियोगितामा हिस्सा लिन ओलम्पिक च्याम्पियन पाकिस्तानका अरशद नदीमलाई पनि आमन्त्रित गरेका थिए तर उनले एशियन च्याम्पियनशीपको तयारीहरूले गर्दा एनसी क्लासिकमा हिस्सा लिन अस्वीकार गरेका थिए। पाकिस्तानका एथलीटलाई आमन्त्रित गरेको विषयलाई लिएर धेरैले नीरजको आलोचना पनि गरेका थिए। जवाफमा नीरजले पहलगाममा भएको आतंकवादी हमलाको दुई दिन अघि नै उनले अरशदलाई आमन्त्रित गरेको बताएका थिए। उल्लेखनीय छ, नीरज भारतका सर्वकालिक महान एथलीटहरूमा एक हुन्। उनले टोक्यो ओलम्पिक २०२०-मा स्वर्ण र पेरिस ओलम्पिक २०२४-मा रजत पदक जितेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement