गान्तोक: सिक्किम भारतमा विलय भएको ५०औं वर्षगाँठ तथा स्वर्णजयन्तीको तयारीलाई लिएर आज टाशीलिङ सचिवालयमा राज्यका मुख्य सचिव आर तेलाङ र मुख्य प्रशासक भीबी पाठकको अध्यक्षतामा एक बैठक सम्पन्न भयो। बैठकमा विभिन्न विभागका प्रमुख, वरिष्ठ अधिकारीहरूले सहभागिता जनाएका थिए, जसमा राज्य दिवसको तयारी र प्रगतिबारे जानकारी गराइयो। बैठकको क्रममा विशेष गरेर स्वर्ण जयन्ती पालनबारे चर्चा परिचर्चा गर्नको साथै उक्त अवसरमा विभिन्न विभागद्वारा गरिने कार्यक्रमबारे प्रस्तुत गरिएयो।
यस अवसरमा प्रत्येक विभागले पाँच दशकको अवधिमा राज्यको उल्लेखनीय यात्रालाई प्रदर्शन गर्न डिजाइन गरिएको आफ्नो प्रमुख कार्यक्रमहरूमाथि प्रकाश पारे।
मुख्य प्रशासक भीबी पाठकले आगामी कार्यक्रमलाई सफल तुल्याउनको निम्ति विभागले अहिलेसम्म सक्रियरूपमा संलग्न रहेर काम गरेकोमा उनले प्रशंसा गर्दै यी सबै कार्यक्रमहरूलाई योजनाबद्ध ढङ्गमा कार्यान्वयन गर्नुपर्ने सुझाउ दिए। उनले थप बताए अनुसार राज्यमा पालन गरिने विभिन्न उत्सवहरूले राज्यको जनताको सामुहिक उपलब्धि र आकांक्षालाई प्रतिविम्वित गर्न सक्नुपर्छ।