गेजिङ: पश्चिम सिक्किम साहित्य प्रकाशनको एक जरूरी सभा गेजिङ प्रकाशनको मुख्यालयमा सम्पन्न भयो। आजको सभामा विभिन्न साहित्यिक विषयहरूमा गम्भीर छलफल गर्दै महत्वपूर्ण प्रस्तावहरू पारित गरियो। सभाले पारित गरेको प्रस्ताव अनुसार यस वर्षको “लालमान सञ्चरानी पुरस्कार” नाटक विद्यामा प्रदान गरिने छ भने बीबी मुरिङला स्मृति पुरस्कार साहित्य निबन्ध क्षेत्रमा प्रदान गरिने छ। लेखक, नाटककार तथा स्रष्टाहरूले सन् २०२१ देखि २०२५ सम्म प्रकाशित आफ्नो कृति १५ जून २०२५ भित्र पसिसाप्रको कार्यालयमा बुझाउनु पर्ने सभाले पारित गरेको छ। तोकिएको समयपछि प्राप्त कृति तथा आवेदनहरू मान्य नहुने सभाले प्रस्ताव पारित गरेको छ।
पत्रिका प्रकाशनका लागि आवश्यक आर्थिक व्यवस्थापनबारे छलफल गर्दै स्रष्टाहरूले आवश्यक रकम मई महिनाभित्र बुझाउनु पर्ने विषयमा सभाले सहमति जनाएको छ। यसका साथै, आगामी संस्करणको प्रकाशन मिति १६ मई २०२५ मा तय गरिएको छ। यससभाको अध्यक्षता पद्मश्री केदार गुरूङले गरेका थिए भने सभामा पसिसाप्रका सचिव तथा साहित्यकार एलपी गुरुङ, गोवर्धन वास्तोला, धीरज राई, अनिता राणा लगायत अन्य साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो। आज सम्पन्न भएको सभामा पुरस्कार चयन समिति तथा सम्पादक मण्डलीलाई पुरस्कार छनौटको जिम्मेवारी सुम्पिएको छ। छनौट भएका कृतिहरूलाई आगामी १३ जुलाईमा आयोजना गरिने भानु जयन्तीको अवसरमा पुरस्कार प्रदान गरिने भएको छ।