खरसाङ: २८ नम्बर समष्टि अन्तर्गत वार्ड नम्बर ७ काे सुबेदार बस्ती क्षेत्रमा वार्ड नम्बर ७ अनि धोबी खोलाको ग्राम पञ्चायत क्षेत्रकाे मध्य भागमा ठूलो खोलामा सभासद कोषबाट निर्माण गरिएको सानो फलामको पुलको उदघाटन गरिएको छ। उक्त पुलको उदघाटन मोहन गुरुङको बाहुलीबाट पूजा अर्चना गरेर साथै नरिवल फुटाएर अनि सभासद श्याम शेर्पाको बाहुलीबाट रिबन काटेर उदघाटन गरिएको छ। खरसाङको वार्ड नम्बर ७ काे सुबेदार बस्ती क्षेत्रमा वार्ड नम्बर ७ अनि धोबी खोलाको ग्राम पञ्चायत क्षेत्रकाे मध्य भागमा रहेको क्षेत्रमा सानो बाँसको पुल मात्र भएकोले गर्दा स्थानीय मानिसहरुलाई यातायातमा धेरै असुविधा भईरहेको थियो। यसको साथै विद्यार्थीहरुलाई यो बाटोमा बर्खामा धेरै जोखिम भएकोले गर्दा क्षेत्रवासीहरुकाे धेरै दिनदेखि उक्त बाँसकाे पुललाई बनाई दिने माग गर्दै आईरहेका थिए।

क्षेत्रवासीहरुकाे समस्यालाई ध्यानमा राखेर सभासद श्याम शेर्पाले जीटीए प्रमुख अनित थापासित सर-सल्लाह गरेर सभासद कोषबाट उक्त बाँसकाे पुललाई फलामकाे बलियो पुल निर्माण गरिदिएका थिए। आजको उदघाटन कार्यक्रम विशेष रुपमा सभासद श्याम शेर्पा, २८ नम्बर समष्टि उपाध्यक्ष मोहन गुरुङ, समष्टि सदस्य प्रकाश लामा, टाउन कमिटी सदस्य सरोज ठाकुर, वार्ड युवा शक्तिका प्रकाश परियार, किशन शर्मा, होलि चाईल्ड स्कूलकाे प्राचार्य मोना मोक्तान खान लगायत पार्टीको अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए।

यस कार्यकाे लागि सम्पूर्ण सुबेदार बस्तीका जनताले सभासद श्याम शेर्पा अनि जीटीए प्रमुख अनित थापाप्रति आभार प्रकट गरिएको छ।