गान्तोक: सिक्किमको सिने अभिनेत्री एवं चलचित्र निर्माता उमा गिरी उर्फ उमा बेबीलाई यस वर्षको प्रतिष्ठित दादासाहेब फाल्के फिल्म फाण्डेशन अवार्ड प्राप्त भएको छ। उनलाई यो पुरस्कार नेपाली भाषा र नेपालका लागि २०२५ को सर्वोत्कृष्ठ अभिनेत्रीको रुपमा प्राप्त भएको हो। आज मुम्बईमा आयोजित कार्यक्रमबीच उनलाई यो पुरस्कार प्रदान गरियो।
प्रतिष्ठित दादासाहेब फाल्के फिल्म फाण्डेशन अवार्ड प्राप्त गरेकोमा उमा गिरीले हर्ष व्यक्त गरेकी छन्। यसको निम्ति उनले निर्णायक मण्डली (ज्यूरी) प्रति आभार व्यक्त गरेकी छन्। यो पुरस्कार प्राप्त गर्नु मेरो लागि सपना थियो र त्यो सपना आज आएर साकार भएको छ। सन १९१३ मा भारतको पहिलो सिनेमा निर्माण/निर्देशन गर्नुहुने दादासाहेब फाल्केज्यूलाई भारतीय सिनेमाका गडफादरको रूपमा चिनिन्छ। उनको नामको यो सम्मान पाउनु मेरोलागी यो गर्वको क्षण हो। म यो पुरस्कार, नेपालवासी, नेपाल चलचित्र उद्योग र सिक्किमवासी मेरा सबै शुभचिन्तकहरूलाई विनम्रतापूर्वक समर्पित गर्दछु, उनले भनेकी छन्।