इटहरी: इटहरी २० तरहरामा घरको छतमा पानी हाल्ने क्रममा लडेर एक पुरुषको मृत्यु भएको छ।
आइतबार (आज) बिहान करिब ७ः३० बजेतिर पुष्पलाल टोलस्थित निर्माणाधीन घरको छतमा पानी हाल्ने क्रममा लडेर नेपाल प्रहरीका बहालवाला प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार निर्माणाधीन दुई तले घरमा पानी लगाउने क्रममा चिप्लिएर लड्दा इटहरी २० तरहरा घर भई, धनकुटामा कार्यरत असई प्रेम कटवालको मृत्यु भएको हो।
अन्दाजी ४५ वर्षीय कटवाल घरको छद्दीबाट पानी हाल्ने क्रममा लडेका थिए।
‘छतबाट लडेको भन्नेबित्तिकै हामी घटनास्थल गएका थियौँ,’ एक प्रहरीले भने, ‘उपचारका लागि लगिएपनि बचाउन सकिएन।’
लडेर उनी क्रंकिट र पानीको नालामा परेका थिए। घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रहरीले तत्कालै अस्पताल लगेपनि उपचारको क्रममा चिकित्सकले मृत घोषित गरेका हुन् ।एक श्रीमती र दुई छोरी रहेका कटवालको निधनले प्रहरी जगतमै अपुरणीय क्षति भएको जानकारहरू बताउँछन्।यद्यपि, घटनाबारे थप अनुसन्धान भने जारी रहेको सुनसरी प्रहरीको भनाइ छ।