सोनादा: मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रीय समितिको सभा श्री हंसबेला आश्रम सिलगढीमा समितिका उत्तरपूर्वाञ्चल क्षेत्रीय समितिकी अध्यक्षा महात्मा दीपिका बाइजीको अध्यक्षतामा सम्पन्न भयो। पहिलो दिन समितिको सल्लाहकार समितिका सभा भएको थियो। सल्लाहकार समितिको सभामा उत्तरपूर्वाञ्चल क्षेत्रका क्षेत्रीय समितिका सल्लाहकारहरू लगायत सम्पूर्ण तहसिल प्रभारी सन्त महात्मा बाइजीहरू उपस्थित थिए भने दोस्रो दिनको साधारण सभामा उपस्थित सम्पूर्ण तहसिल प्रभारी सन्त महात्मागण, समिति एवम् सेवा दल, आध्यात्मिक युवा संगठन, बालसभाका क्षेत्रीय, प्रान्त, जिल्ला र तहसिल स्तरका कार्यकर्ताहरू र समितिको सांस्कृतिक विभाग, सुरक्षा विभाग आदि विशेष-विशेष विभागका प्रभारीहरू उपस्थित थिए। सल्लाहकार समितिको सभामा मानव उत्थान सेवा समिति र मानव सेवा दलले आगामी दिनमा सामाजिक सेवाहरू र अध्यात्म ज्ञानको प्रचार प्रसारको लागि गरिनुपर्ने विविध कार्यक्रमहरूको रूपरेखा तयार गरेका थिए। सल्लाहकार समितिले तयार गरेको रूपरेखालाई दोस्रो दिन अर्थात् 3 मईको दिन सम्पन्न भएको समिति एवम् सेवा दलको साधारण सभामा अन्तिम निर्णय दिएका थिए। सभामा समितिका अध्यक्ष महात्मा दीपिका बाइजी, मूल सचिव प्रकाश हाङखिम, मानव सेवा दलका प्रान्तपालद्वय भीमप्रकाश राई, हेमराज गुरुङ, उप-प्रान्तपाल बाबुल मिजार, सिक्किम मण्डल प्रमुख प्रवीण गुरुङ, भुटान डिएमसीका उपाध्यक्ष मदन छेत्री, बाल सभाका संयोजकद्वय नरेन गुरुङ र अर्पणा राई, शाखा आश्रम विभागकी ममता निरौला, सूचना एवम् प्रचारप्रसार विभागका मेघनाथ छेत्री, युवा प्रकोष्टका संयोजक दीपक राई, समितिका सहसचिव चन्दन लकान्द्री, समितिका प्रमुख सल्लाहकार डाक्टर जेपी अग्रवाल, गिरिशचन्द्र राई लगायत महात्मा देवीका बाइजी, महात्मा तारिका बाइजी आदिले सभालाई सम्बोधन गर्दै मानव उत्थान सेवा समिति र मानव सेवा दलका विभिन्न निकायहरूद्वारा गरिनुपर्ने सामाजिक सेवा र आध्यात्मिक ज्ञानको प्रचार-प्रसार लगायत मानव धर्म आश्रम सालुगढाको परिसरमा गरिनुपर्ने विभिन्न योजनामूलक आवश्यक कार्यहरूको बारेमा आ-आफ्ना विचारहरू व्यक्त गरेका थिए। यस अवसरमा मानव सेवा दल र मानव उत्थान सेवा समितिका क्षेत्रीय, प्रान्त, जिल्ला, तहसिल र खण्डस्तरका नवनियुक्त कार्यकर्ताहरूलाई अध्यक्ष महात्मा दीपिका बाइजीले शपथ ग्रहण पनि गराएका थिए। यस वर्षलाई आध्यात्मिक ज्ञानको प्रचार-प्रसारको वर्ष घोषित गरेर दार्जिलिङ -पहाड,तराई -डुवर्स,सिक्किम, भुटानका सम्पूर्ण ठाउँहरूमा सद्भावना सत्संग कार्यक्रम, मोबाइल भ्यान सत्संग, विभिन्न सामाजिक सेवाहरू, ध्यान योग साधना शिविर, कार्यकर्ता प्रशिक्षण शिविर आदिको माध्यमद्वारा जन-जनमा आत्मज्ञानको सन्देश पुर्याएर यस वर्ष २०२५ मा उत्तरपूर्वाञ्चल क्षेत्रबाट पाँच हजारभन्दा बढी मानिसहरूलाई आत्मज्ञानको व्यावहारिक दीक्षा प्रदान गरिने संकल्प सभाले लिएको छ। यसको लागि नवनियुक्त कार्यकर्ताहरू र सम्पूर्ण प्रेमी सज्जनवृन्द मानव धर्मका प्रणेता सद्गुरुदेव श्री सतपालजी महाराज,मानव उत्थान सेवा समितिका राष्ट्रिय अध्यक्ष विभूजी महाराज एवम् सम्पूर्ण दिव्य परिवारको आज्ञा र मार्ग निर्देशनलाई शिरोपर गरी अनुशासित र कर्तव्य निष्ठ भई आफ्ना दायित्वहरूलाई अक्षरस पूरा गर्ने प्रतिज्ञासँगै सबैलाई अध्यक्ष महात्मा दीपिका बाइजीले शपथ ग्रहण गराए।