काठमाडौँ: विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि नजिक पुगेका छन्।
ललितपुरको च्यासल फुटबल मैदानमा शनिबार भएको खेलमा आर्मीले बागमती प्रदेशलाई ८–० गोलअन्तरले हराउँदै दोस्रो जित निकाल्यो। आर्मीको जितमा कमला चन्द, निलिमा पाण्डे र दमारा भट्टले समान दुई गोल गर्नुभयो।
सुनिता नेगी र सीतामाया बलले समान एक गोल थप्नुभयो। चार टोली सहभागी महिलातर्फ लिगको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ। हालसम्म आर्मीसँगै गण्डकी प्रदेशले पनि दुई जित निकालेको छ।
समान दुई खेलबाट आर्मी र गण्डकीको ६/६ अङ्क छ। अब आगामी आइतबार गण्डकी र आर्मीबिच प्रतिस्पर्धा हुनेछ। यो खेलले नै लिगको विजेता टुङ्गो लगाउनेछ। लिगमा समान दुई खेल खेलेका बागमती र मधेसले भने अङ्क जोड्न सकेका छैनन्।
शनिबार नै भएको पुरुष राष्ट्रिय हक्की प्रतियोगितामा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ। च्यासलमा नै भएको समूह ‘बी’ को खेलमा पुलिसले एपिएफ क्लबमाथि ३–० को जित निकालेको हो।
पुलिसको जितमा नवराज खत्रीले ह्याट्रिक पूरा गर्नुभयो। उहाँ प्लेअर अफ दी म्याच हुनुभयो। यो जितसँगै चार टोली रहेको समूहबाट शीर्ष दुईमा रहँदै पुलिसले सेमिफाइनलमा स्थान पक्का गरेको छ।
समान दुई खेलबाट अपराजित पुलिसको ६ ङ्कक र कर्णालीको तीन अङ्क छ। समान दुई खेलबाट एपिएफ र बागमतीको एक एक अङ्क छ। यो समूहमा कर्णालीसँगै एपिएफ र बागमती तीनै टोलीको शीर्ष दुईभित्र रहेर सेमिफाइनलमा पुग्ने सम्भावना जीवतै छ।
शनिबार नै भएको पहिलो खेलमा कोसी र गण्डकीले ३–३ गोलको बराबरी खेले। कोसीका लक्ष्मण समारिया, योगेशकुमार बारघरे र आर्यान चौधरीले एक एक गोल गर्नुभयो।
गण्डकीका लागि दीपक तामाङले दुई तथा संघम घर्तिमगरले एक गोल गर्नुभयो। दुवै टोली जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्थे। तर, यो खेलको नतिजा बराबरी भएपछि आर्मीले सेमिफाइनलमा स्थान बनायो।
समान दुई खेलबाट आर्मी ६ अङ्कसहित शीर्ष स्थानमा छ। समान दुई खेलबाट कोसीको चार, गण्डकीको एक अङ्क र मधेस अङ्कबिहीन छ। अब कोसी र गण्डकीमध्ये एक टोलीको सेमिफाइनलमा पुग्नेछ।