कृष्णेन नेवार बने समष्टि टप्पर
खरसाङ: तीनधारे समष्टी अन्तर्गत पर्ने छवटा विद्यालयहरुमा यसपालीको माध्यमिक परीक्षा सय प्रतिशत उत्तीर्ण रहेको छ। शुक्रबार प्रकाशित भएको पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डको परीक्षा परिणाम अनुसार तीनधारे महानदी समष्टिभित्र पर्ने छवटा माध्यमिक विद्यालयहरु क्रमैले तीनधारे उच्चत्तर माध्यमिक विद्यालय, तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालय, मिठाईडाँडा रेणुका कन्या उच्च माध्यमिक विद्यालय, शिवखोलास्थित आईएनए उच्च माध्यमिक विद्यालय, घैयाबारीको नेताजी उच्च माध्यमिक विद्यालय र महानदी हाई स्कूल आदिको माध्यमिक परीक्षाको परिणाम सय प्रतिशत रहेको जानकारी प्राप्त भएको छ। यस क्रममा तीनधारे उच्चत्तर माध्यमिक विद्यालयबाट यसपाली जम्मा २५ जनाले माध्यमिक परीक्षा दिएका थिए जसमा सबैजना उत्तीर्ण भएर विद्यालयको परिणाम सय प्रतिशत उत्तीर्ण भएका छन्। यस विद्यालयबाट सर्वोच्च अंक जोगमाया चियाबारी निवासी कृष्णेन नेवारले ६५ प्रतिशत अंक ४५२ प्राप्त गरेका छन्। उनी तीनधारे महानदी समष्टिको ६ वटा विद्यालयहरुमा टप्पर बनेका छन्। त्यसरी नै यस विद्यालयबाट लालमाट्टी निवासी सूर्यमान राईले ५९.०२ प्रतिशतसहित ४१५ अंक प्राप्त गरेको जानकारी शिक्षक देवेन मंगरले दिएका छन्। त्यसरी नै तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयबाट यसपाली जम्मा १५ जनाले माध्यमिक परीक्षा दिएका थिए जसमा सबैजना उत्तीर्ण भएर विद्यालयको परिणाम सय प्रतिशत उत्तीर्ण भएका छन्। यस विद्यालयबाट छात्रा दुर्गा दियालीले सर्वाधिक ६१ प्रतिशत अंक प्राप्त गरेको जानकारी प्रधान अध्यापिका रोजीरानी राईले दिएकी छन्। यस विद्यालयको छात्रा दुर्गा दियाली तीनधारे महानदी समष्टिभरिमा दोस्रो टप्पर हुन्। तीनधारे महानदी समष्टिको मिठाईडाँडा रेणुका कन्या उच्च माध्यमिक विद्यालयबाट यसपाली जम्मा १८ जनाले माध्यमिक परीक्षा दिएका थिए जसमा सबैजना उत्तीर्ण भएर विद्यालयको परिणाम सय प्रतिशत रहेको जानकारी प्राप्त भएको छ। त्यसरी नै घैयाबारीस्थित नेताजी हाई स्कूलबाट यसपाली जम्मा १७ जनाले माध्यमिक परीक्षा दिएका थिए जसमा सबैजना उत्तीर्ण भएर विद्यालयको परिणाम सय प्रतिशत उत्तीर्ण रहेको प्रधान अध्यापक दिनेश प्रधानले जानकारी गराएका छन्। उनले बताए अनुसार यस विद्यालयमा सलन प्रधानले सर्वाधिक ४८ प्रतिशतसहित ३३६ अंक प्राप्त गरेका छन्। यसै क्रममा शिवखोलाको आईएनए मेमोरियल उच्च माध्यमिक विद्यालयकबाट यसपाली जम्मा ११ जनाले माध्यमिक परीक्षा दिएका थिए जसमा सबैजना उत्तीर्ण भएर विद्यालयको परिणाम सय प्रतिशत उत्तीर्ण रहेको प्रधान अध्यापिका रूथरानी राईले जानकारी गराएकी छन्। तीनधारे महानदी समष्टि अन्तर्गत पर्ने महानदी हाई स्कूलबाट यसपाली जम्मा १३ जनाले माध्यमिक परीक्षा दिएका थिए जसमा सबैजना उत्तीर्ण भएर विद्यालयको परिणाम सय प्रतिशत उत्तीर्ण रहेको जानकारी प्राप्त भएको छ। यस विद्यालयबाट सर्वोच्च अंक सुभम सुब्बाले ३५० ल्याएको जानकारी प्राप्त भएको छ। तीनधारे महानदी समष्टिभित्र ६ वटा विद्यालयहरुमा यसपालीको माध्यमिक परीक्षाको परिणाम सय प्रतिशत उत्तीर्ण रहेको भए पनि प्रथम दर्जामा उत्तीर्णहरुको संख्यामा भने निक्कै कमी आएको देखिएको छ। यस समष्टिमा रहेको छवटा माध्यमिक विद्यालयहरुमा तीनधारे उच्चत्तर माध्यमिक विद्यालयबाट एकजना र तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयबाट एकजना गरी समष्टिभरिमा केवल दुईजना मात्रै प्रथम दर्जामा उत्तीर्ण रहेको जानकारी प्राप्त भएको छ। यसपाली तीनधारे महानदी समष्टिको छवटा माध्यमिक विद्यालयहरुमा तीनधारे उच्चत्तर माध्यमिक विद्यालयबाट माध्यमिक परीक्षा दिएका जोगमाया चियाबारी निवासी कृष्णेन नेवार समष्टि टप्पर र तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयकी छात्रा दुर्गा दियाली दोस्रो टप्पर बनेकी छन्।