दार्जिलिङ: नेपाली गल्स सोशियल सर्भिस सेन्टर, डायोसिस सेन्टर गान्धी रोड, दार्जीलिङ र राष्ट्रिय मुक्ति विद्यालय शिक्षा संस्थानका प्रतिनिधिहरूको टोलीले दार्जीलिङ लोकसभा क्षेत्रका सांसद राजु विष्टलाई भेटी नेपाली विषयलाई उच्चत्तर माध्यमिक पाठ्यक्रममा समावेश गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन्। प्रतिनिधि टोलीले राष्ट्रिय मुक्ति विद्यालयमा नेपाली विषय नहुँदा यस क्षेत्रका विद्यार्थीहरूले भोग्नुपरेको शिक्षात्मक समस्या र अन्योलताबारे सांसद बिष्टलाई स्पष्ट रूपमा जानकारी गराएको थियो। भेटघाटका क्रममा सांसद बिष्टले विषयको गम्भीरता बुझ्दै सकारात्मक चासो व्यक्त गरेका छन् र यस विषयमा सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
सांसदलाई भेट्ने टोलीमा संस्थाका कोअर्डिनेटर सुमन खालिङ, उर्मिला रुम्बा, ज्योतिदान गुरुङ, बिमल खालिङ र पुरण राई सहभागी थिए। भेटपछि सुमन खालिङले प्रेस विज्ञप्तिमार्फत यो जानकारी दिएका हुन्। दार्जीलिङ जस्तो नेपाली भाषी बाहुल्य क्षेत्रका विद्यार्थीहरूलाई उनीहरूको मातृभाषामा पढ्ने अवसर सुनिश्चित गराउनका लागि यो पहल एक महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।