खरसाङ: पहाडको विभिन्न विद्यालयहरूमा स्वास्थ्य सुरक्षा अनि सेवा पुर्याउने अभियानमा आज जीटीए स्वास्थ्य विभागको तत्वावधानमा खरसाङस्थित पुष्पारानी उच्चत्तर माध्यमिक विद्यालय अनि तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा स्वास्थ्य जाँच शिविर आयोजना गरेको छ। जाँच शिविरमाथि जानकारी दिँदै इकाइका विजय सिन्चुरीले भने, “जीटीएको स्वास्थ्य विभागको पहलमा खरसाङ अस्पतालमा रहेको स्कूल स्वास्थ्य इकाईले महकुमा अन्तर्गतका विभिन्न प्राथमिक अनि माध्यमिक सरकारी पाठशालाहरू, आईसीडीएस केन्द्रहरुमा गएर विद्यार्थीहरूको स्वास्थ्य जाँच गर्ने गरेको छ। जाँच समय यदि विद्यार्थीहरुमा कुनै स्वास्थ सम्बन्धी समस्या पाइए जीटीएले एउटा सिस्टम बनाएको छ। त्यो सिस्टमको आधारमा बिरामीको प्राथमिक जाँच देखि लिएर उपचार सम्म जीटीएले निःशुल्क गराउने प्रावधान रहेको छ। सिन्चुरीले उदाहरण दिँदै भने यदि स्वास्थ जाँचको समय कसैमा हृदय रोगको लक्षण देखा परे, जीटीएले उसलाई अघिल्लो चरणको जाँच गराउन सिलगढी नर्थ बङ्गाल मेडिकल कलेजमा लैजानेछ। यदि बिरामीको शल्य क्रिया गर्नु पर्यो भने बिरामीलाई कोलकातामा लगेर उपचार गरिन्छ। यी सबैको उपचार जीटीए ले निःशुल्क गराउनेछ।”

शिविर कहाँ अनि कहिले हुन्छ भन्ने विषयमा जानकारी गराउँदै उनले भने, “स्कूल स्वास्थ्य परियोजना हरेक शनिवार आईसीडी एस केन्द्रमा स्वास्थ शिबिर चलाइन्छ भने सोमबार देखि शुक्रबार भित्र प्राथमिक, माध्यमिक पाठशालामा शिविर लगाइन्छ।”
खरसाङको पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयमा आज लगाइएको स्वास्थ्य शिविरमा नानीहरूको साधारण जाँचदेखि एनेमियाको जाँच पनि गरियो। ६० जना नानीहरूको हेमोग्लोबिन परीक्षण गरियो। आजको शिविर खरसाङ अस्पातलका डाक्टरहरु, नर्सहरू, खरसाङ नगरपालिकाका आशा कर्मीहरु द्वारा सञ्चालन गरिएको थियो।

त्यसरी नै तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा पनि तीनधारे प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारीहरुले जाँच शिविर आयोजना गरेको जानकारी प्राप्त भएको छ।