बार्सिलोना: यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगिताको सेमिफाइनल चरणको पहिलो लेगमा बार्सिलोना र इण्टर मिलानबीच खेलिएको म्याच ३-३-ले ड्र रह्यो। आफ्नो होम ग्राउण्डमा खेल्दै दुईपल्ट पछाड़िने बार्सिलोनाले भाग्यको भरमा म्याच बचायो। म्याचमा ७२ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाले शुरुमै २ गोल खायो। मार्कस थुर्रमले इटलीको क्लबलाई पहिलो मिनटमै बढ़त दिलाए। त्यसपछि डेञ्जेल डम्फ्रिसले २१औं मिनटमा बढ़तलाई दोब्बर पारे। शुरुमै पछाड़िने बार्सिलोनाले पनि मध्यान्तर अघि नै २-२-को बराबरी हासिल गऱ्यो। होम टीमबाट लामिन यामालले २४औं र फेरान टोरेसले ३८औं मिनटमा गोल गरे। मध्यान्तरपछि इण्टर मिलानले फेरि बढ़त हासिल गऱ्यो। डम्फ्रिसले ६३औं मिनटमा व्यक्तिगत दोस्रो गोलको साथ स्कोर ३-२ पुऱ्याए। त्यसपछि इण्टरका गोलकीपर यान सोमेरले ६५औं मिनटमा आत्मघाती गोल गर्दा बार्सिलोना हार्नदेखि बाँच्यो। यसअघि खेलिएको म्याचमा पेरिस सेण्ट जर्मेन (पीएसजी)-ले आर्सनललाई १-०-ले पराजित गऱ्यो। यस अवे म्याचमा ५३ प्रतिशत पोजेशनको साथ खेल्ने पीएसजी-बाट औस्माने डेम्बेलेले चौथो मिनटमा गोल गरे। सेमिफाइनलको दोस्रो लेगका म्याचहरू ७ मईदेखि शुरु हुनेछ। फाइनल १ जूनमा खेलिनेछ।