युकेएफसी र आईटीआई टुंग विजय
खरसाङ: खरसाङ महकुमा खेलकूद संघको आयोजनामा खरसाङको चाँनमारी खेल मैदानमा भईरहेको स्व. दिवस लामा स्मृति अण्डर १७ खरसाङ प्रिमियर लिग फुटबल टुर्नामेन्ट अन्तर्गत आज दुईवटा खेलहरु सम्पन्न भएको छ। पहिलो खेल युकेएफसी खरसाङ र नयाँ बस्ती फुटबल क्लबमाझ सम्पन्न भएको छ। यस खेलमा युकेएफसी खरसाङ सजिलै बिजय बनेको छ। आज सम्पन्न दोस्रो खेल हिल फुटबल एकाडेमी र आईटीआई टुंगमाझ सम्पन्न भएको थियो। यस खेलको पूर्वार्ध्दमा हिल फुटबल एकाडेमी ३-१ को बढत बनाएका थिए तर दोस्रो हाफमा आईटीआईले लगातार गोल गरेर ४-३ को अन्तरले आईटीआई टुंग विजय बनेको छ। स्व दिवस लामा स्मृति अण्डर १७ खरसाङ प्रिमियर लिग फुटबल टुर्नामेन्टको अन्तिम दिनको खेल आगामी ४ मईको दिन हुने भएको छ। उक्त दिनको खेल अन्तर्गत पहिलो खेल नयाँ बस्ती फुटबल क्लब र आईटीआई टुंगमाझ सम्पन्न हुने भएको छ भने दोस्रो खेल हिल फुटबल एकाडेमी र युकेएफसी खरसाङमाझ सम्पन्न हुने भएको छ। आज सम्पन्न भएको खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलकूद संघको उप सभापति फुर्बा घिसिङले विस्तृत रुपमा जानकारी गराएका छन्। उनले ४ मईमा पनि दुईवटा खेलमा जसको बेसी पोइन्ट हुन्छ त्यसैको आधारमा परिणाम दिइने बताएका छन्। उनले आजसम्मको खेलमा ६ पोइन्टको साथमा युकेएफसी प्रथम, ३-३ पोइन्टको साथमा हिल फुटबल एकाडेमी र आईटीआई टुंग क्रमैले दोस्रो र तेस्रो अनि नयाँ बजार चौथो स्थानमा रहेको जानकारी गराएका छन्।