हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको आयोजनामा अन्तर्राष्ट्रीय श्रमिक दिवस समारोह सम्पन्न

IMG-20250501-WA0242

चियाबारी क्षेत्रका विशिष्ठ व्यक्तिहरूलाई सम्मान

खरसाङ: अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको आयोजनामा श्रमिक दिवस पालन गरिएको छ। खरसाङको स्प्रिङ साइडको सार्वजनिक भवनमा सम्पन्न उक्त कार्यक्रमलाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिको रूपमा नारी शक्तिको केन्द्रीय अध्यक्षा एंव खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान उपस्थित रहेका थिए।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय कानुनी सल्लाहकार तिलचन्द्र रोका, केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, कार्यकारी सभासदद्वय कल्पना प्रधान र अनोश थापा, सभासद श्याम शेर्पा, भागोप्रमो केन्द्रीय सदस्य समीरदिप ब्लोन, खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, सचिव प्रणाम रसाइली, नारी शक्ति खरसाङ महकुमा समितिको सभापति सबिता कार्की, सचिव जैतुन निशा खातुन, खरसाङ खण्ड अन्तर्गत पर्ने विभिन्न ग्राम पञ्चायतको प्रधान, उप प्रधान, पञ्चायत समिति सदस्यहरु र खरसाङ महकुमा अन्तर्गत विभिन्न युनिट कमिटीको प्रतिनिधिहरु उपस्थित रहेका थिए‌। कार्यक्रममा स्वागत सम्भाषण हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाले राखेका थिए।‌ कार्यक्रमको अध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरुका बाहुलीबाट श्रमिक आन्दोलनमा‌ शहीदहरुलाई फूल अर्पण साथै धुप दीप प्रज्ज्वलन गरी श्रध्दाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा अन्तर्गत पर्ने ५७ वटा शाखा कमिटीहरुमा 53 वटा शाखा कमिटीहरुका सभापति सचिवहरुलाई सम्मान जनाइएको छ।‌ कार्यक्रममा मिरिक निवासी चर्चित गायक जितेन लेप्चालाई पनि सम्मान जनाइएको छ भने उनले आफ्नोे दुईवटा गीतहरु पनि प्रस्तुत गरेका थिए। कार्यक्रममा बालचन्द्र राई, मुकुन्द बम्जन, रञ्जु छेत्री, कवि मिलन प्रधान, सभासद अनोश थापा आदिले कविता वाचन गरेका थिए। कार्यक्रममा अंशिका मुखियाले दुईवटा गीतहरु प्रस्तुत गरेका थिए। यसै कार्यक्रममा चियाबारी क्षेत्रका विशिष्ठ व्यक्तिहरूलाई खरसाङ महकुमा समितिको तर्फबाट सम्मान जनाइएको छ‌। यस अवसरमा पीएचडी पूरा गर्ने मिरिकको फुवागढी निवासी डा प्रयास तामाङ र डा प्रवेश तामाङलाई सम्मान जनाइएको छ।‌ त्यसरी नै तीनधारेको नयाँ कमान निवासी कवि मिलन प्रधान, सिविटार चियाबारी निवासी पत्रकार हनोक थापा आदिलाई सम्मान जनाइएको थियो।

सम्मानितहरुलाई अतिथिहरुका बाहुलीबाट खदार्पणसहित फूलगुच्छा प्रदान गर्दै शल ओढाएर साथै सम्मान पत्रद्वारा सम्मानित गरिएको छ।‌यसै कार्यक्रममा उच्च माध्यमिक परीक्षामा उच्च अंक ल्याएर उत्तीर्ण सरिना तामाङलाई पनि सम्मान जनाइएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नारी शक्ति केन्द्रीय अध्यक्षा अनु छेत्री प्रधानले भागोप्रमो पार्टी र पार्टी अध्यक्ष अनित थापा सदैव श्रमिकहरुको हितमा रहेको जनाउँदै श्रमिकहरुको हितमा सक्रिय भएर कार्य गरिरहेको बताएकी‌ छन्।‌ अनु छेत्री प्रधानले भनिन्-‘अनित थापाले चिचाएर कराएर होइन तर शान्ता भएर श्रमिकहरुको हितमा कार्य गरिरहेका छन्‌। श्रमिकहरुको विभिन्न समस्याहरु समाधान गर्न लागि परेका छन्।‌ तर यहाँ श्रमिकहरुमाथि राजनीति भईरहेको छ। अब श्रमिकहरु पनि सचेत हुनुपर्छ। कसले श्रमिकहरुको हितमा कार्य गरिरहेका छन् त्यो कुरा बुझेर उसलाई नै साथ दिनुपर्छ।’


उनले अघि भनिन् -‘हामी सबैलाई श्रमिकहरुको समस्या थाहा छ। हामी सबैजना श्रमिकहरुको हितमा कार्य गर्न तत्पर छौं।‌ सबैजना श्रमिकहरुको पक्षमा छौं। जीटीए, पञ्चायत समिति, पञ्चायत सबैजना श्रमिकहरुको पक्षमा उँभिएका छौँ।’
कार्यक्रममा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय कानुनी सल्लाहकार एंव खरसाङको पर्यवेक्षक तिलचन्द्र रोकाले आफ्नो सम्बोधनमा किन श्रमिक दिवस पालन गरिन्छ र यो कताबाट शुरु भएको थियो भनी विस्तृत रुपमा जानकारी गराएका छन्। उनले आफ्नो सम्बोधनमा ट्रेड युनियन गर्दा नियम कानुन बुझेर गर्नु पर्ने तर अन्धाधुन्ध गर्नु नहुने बताएका छन्। उनले १ मईको श्रमिकहरुको दिन हो भन्दै श्रमिकहरुको हक र अधिकारको लागि जसले बलिदान दिएका थिए उनीहरुको स्मृतिमा श्रध्दाञ्जली अर्पण गर्ने दिन हो भनी बताएका छन्। उनले यो दिन श्रमिकहरुको बिजय दिनको रुपमा पनि मनाउन सकिने बताएका छन्।‌


कार्यक्रममा सभासद प्रणाम रसाइलीले‌ पनि वक्तव्य राखेका थिए। सभाध्यक्ष एंव हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका छन्। उनले यस अवसरमा बोल्दै भने, आगामी २४ र २५ मई २०२५ मा खरसाङ महकुमा समितिभित्र रहेका युनिट कमिटीहरुलाई लिएर दुई दिवसीय सेमिनारको आयोजना गरिने पनि बताएका छन्।‌ यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सचिव भक्तिमान तामाङले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement