काठमाडौं: चलचित्र ‘शिवांश’ को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ। निर्माणपक्षले बुधबार फष्टलुक सार्वजनिक गर्दै ‘शिवाशंः च्याप्टर १’ निर्माणको घोषणा गरेको हो। अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने यो चलचित्रको निर्देशन सन्तोषकुमार आत्रेयले गर्ने छन्। यो उनको डेब्यु निर्देशकीय चलचित्र हो। चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा देखिने छन भने विकास जोशी, विमला लिम्बु, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारहरूको पनि अभिनय रहने निमार्णपक्षले जनाएको छ।
चलचित्रको कथा अञ्जान केसीले लेखेका छन जो यसका निर्माता पनि हुन्। सहनिर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन भने पटकथा बारत लिम्बुले तयार पारेका छन्। सार्वजनिक पोष्टरमा प्रमुख कलाकार प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएको अवस्थामा देखिएका छन्। पोष्टरमा एक व्यक्तिको अगाडि सिंगो गाउँमा आगो लागेको दृश्य देखिन्छ, जसले चलचित्र शक्ति संघर्षमा आधारित रहेको संकेत गर्दछ। तर, कथावस्तुबारे निर्माणपक्षले थप विवरण सार्वजनिक गरेको छैन। चलचित्रमा न्हृयू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहने छ। गीत लेखनमा राजनराज शिवाकोटी र विप्लव प्रतीक छन्। स्वर राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको रहने जनाइएको छ।
चलचित्रमा मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चोहानको नृत्य निर्देशन रहने छ। सिनेमाटोग्राफी सरद महतोको रहने चलचित्रको मुख्य सहायक निर्देशक बारत लिम्बु को हुन भने स्क्रिप्ट डक्टरको रूपमा सुलक्षण भारती, कार्यकारी निर्माता शम्भु थापा रहेका छन्। विराज खड्का भिएफएक्स डाइरेक्टर तथा सुपरभाइजर रहेको चलचित्रमा आदेश सुब्बा भिएफएक्स प्रोड्युसरको भूमिकामा रहने छन्। कष्ट्युम कमल मिश्रले तयार गरेका छन भने मेकअप आर्टिष्ट (एमयूए) तुलसा लिम्बु रहने बताइएको छ।
पोष्टर फोटोग्राफी युवाहाङ राईले गरेका छन भने आर्ट डिरेक्टर तथा प्रोडक्सन डिजाइनर प्रतीक चौधरी रहेका छन्। प्रोडक्सन म्यानेजरको रूपमा मिलन मानन्धर रहने छन्। यो चलचित्र असोज २४ गते(१० आक्टुबर)देखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रको पोष्ट-प्रोडक्सन कार्य चलचित्र चौतारीले गर्नेछ भने वितरणको जिम्मा डिजिटल सिनेमा नेपाल (डीसीएन)ले लिएको छ।