गान्तोक: भारतीय जनता पार्टी, सिक्किम प्रदेशले आज राजधानी गान्तोक अनि दक्षिण सिक्किमको जोरथाङमा आयुष्मान भारत दिवस पालन गऱ्यो। मुख्य कार्यक्रम बीजेपी सिक्किम महिला मोर्चाको तत्वावधानमा जोरथाङमा आयोजना गरिएको थियो। यस अवसरमा सेवा एवं सम्पर्क अभियानअन्तर्गत स्थानीय लाभार्थीहरूलाई आयुष्मान भारत र ई-श्रम कार्ड पनि वितरण गरियो। यसरी नै राजधानी गान्तोकस्थित सिटी अफिसमा पनि भाजपा सिक्किमले आयुष्मान भारत दिवस पालन गऱ्यो। यहाँ पनि लाभार्थीहरूलाई आयुष्मान भारत र ई-श्रम कार्ड प्रदान गरियो।
उल्लेखनीय छ, आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना केन्द्रको भाजपा सरकारको एक विशेष ध्वजवाहक कार्यक्रम हो जसको उद्देश्य आर्थिक रुपमा कमजोर वर्गलाई स्वास्थ्य बीमा उपलब्ध गराउनु रहेको छ। यस योजनाअन्तर्गत ५ लाख रुपियाँसम्मको बीमाको प्रावधान रहेको छ। अन्तोदय अन्न योजनामा पञ्जीकृत अनि जेष्ठ नागरिकहरूले आयुष्मान भारत योजनाअन्तर्गत लाभ पाउनेछन् भने हालसम्म सिक्किममा अन्तोदय योजनाबाट ८६,२१७ साथै ५,८३२ जना जेष्ठ नागरिकले लाभ पाइसकेको सिक्किम प्रदेश भाजपाको दावी रहेको छ। यसरी नै राज्यमा हाल आयुष्मान भारतअन्तर्गत १६७ वटा स्वास्थ्य केन्द्र साथै १२ वटा जन औषधि केन्द्र राज्यमा सञ्चालन भइरहेको पनि पार्टीले जानकारी गराएको छ।
हाल प्रदेश अध्यक्ष डीआर थापाको नेतृत्वमा सिक्किम प्रदेश भाजपा-ले राज्यका विभिन्न स्थानमा धारावाहिक रुपमा सेवा एवं सम्पर्क अभियान आयोजना गरेर स्थानीय लाभार्थीहरूलाई आयुष्मान भारत र ई-श्रम कार्ड वितरण गर्ने गरेको छ। यसो गर्नुको उद्देश्य राज्यमा एकैजना पनि योग्य लाभार्थी यी विशेष सुविधाहरूबाट वञ्चित नहोस भन्ने रहेको प्रदेश भाजपा-को भनाइ रहेको छ।