गान्तोक: राज्यको शिक्षा विभागले हिजो रानीपुलस्थित पीएमश्री बृहस्पति वरिष्ठ माध्यमिक विद्यालयको प्रेक्षागृहमा समग्र शिक्षामाथि राज्यस्तरीय योग ओलम्पियाड आयोजन गऱ्यो। उदघाटन कार्यक्रममा शिक्षा विभागका प्रमुख निर्देशक सोनाम डेञ्जोङपा मुख्य अतिथि थिए। यस लगायत शिक्षा विभागका अधिकारीहरु उपस्थित थिए। समग्र शिक्षा विभागका अतिरिक्त निर्देशक एडी छेत्रीले शिक्षामा राज्यस्तरीय योग ओलम्पियाडको छनोट प्रक्रियाबारेमा जानकारी गराए। यस वर्ष उक्त जिल्लास्तरीय प्रतियोगितामा ७५० भन्दा बढी विद्यार्थीहरूले भाग लिएका थिए। जसमध्ये ९४ जना सहभागीलाई राज्यस्तरीय सहभागिताको लागि योग्य घोषित गरिएको बताए। कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा विभागका प्रमुख निर्देशक सोनाम डेञ्जोङपाले सहभागीहरूलाई सिर्जनात्मक कार्यमा गम्भीर बन्ने आह्वान गरे। उनले विद्यार्थीहरूलाई राष्ट्रीयस्तरको प्रतियोगिताका निम्ति तयार गर्ने गर्ने सुझाउ दिए। यसका साथै, उनले राज्यका कुनाकुनाबाट लुकेका प्रतिभाहरूलाई मञ्च प्रदान गर्न यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताउँदै उनले राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई शुभकामना दिए। भारत सरकारको शिक्षा मन्त्रालयले एनसीइआरटी, नयाँ दिल्लीसँगको सहकार्यमा शिक्षामा योगलाई प्रवर्द्धन गर्ने उद्देश्यले ओलम्पियाड शुरु गरेको हो। भारत सरकारको शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा अनुसन्धान तथा प्रशिक्षण परिषद मार्फत विद्यालयहरूमा पाठ्यक्रमसहित बाह्य शिक्षाको एक भागकोरूपमा यस प्रकारको पहल शुरू गरिएको जानकारी गराए। योगलाई स्वास्थ्य र शारीरिक शिक्षाको एक आवश्यक भागकोरूपमा एकीकृत गरिएको जानकारी पनि कार्यक्रममा दिइयो। आत्म र समाजको लागि योग – विषयलाई केन्द्र गरेर योग ओलम्पियाड आयोजन गरिएको थियो।