सोनादा: सोनादा डिग्री कलेजको तत्वावधानमा बुधबार कलेजको प्रेक्षागृहमा साथै कलेज परिसरमा जातीय सांस्कृतिक उत्सव एथेनिक दिवसको रुपमा सम्पन्न भयो। कलेजका राजनीति विज्ञान विभागका प्रमुख प्रा सुशिला बराईलीको अध्यक्षतामा एवम् कलेज परिचालन समिति (कलेज गवर्निङ बडी) का सभापति तथा पूर्व सांसद एंव पूर्व विधायिका शान्ता छेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा विद्यार्थीहरुद्वारा विभिन्न लोक नृत्य, लोक गीतहरू साथै सांस्कृतिक शैलीगत हिँडाई (फेसन शो ) प्रस्तुत गरेका थिए। प्रतियोगितात्मक रुपमा सम्पन्न भएको लोक गीत र लोक नृत्यका निर्णायकहरुमा देवकुमार प्रधान भीमबहादुर गुरुङ क्षमित, जेके राई अनि सांस्कृतिक शैलीगत् हिडाईँ प्रतियोगितामा निर्णायकको रुपमा शान्तिरानी उच्चतर माध्यमिक विद्यालयकी शिक्षिकाद्वय सोनिया छेत्री, चन्दा खवास र सोनादा उच्चतर माध्यमिक विद्यालयकी शिक्षिका शर्मिला राई रहेका थिए। विद्यार्थीहरूले साकेला, मारुनी, तिब्बती, तामाङ सेलो आदि विभिन्न सामूहिक लोक नृत्यहरू र गीतहरु प्रस्तुत गरेका थिए भने सांस्कृतिक शैलीगत हिँडाई उत्सवको एउटा थप आकर्षण रहेको थियो। समारोहमा सद्भावना वरिष्ठ नागरिक मञ्चका वरिष्ठ नागरिकहरूको सामुहिक गीत प्रस्तुतिले कार्यक्रममा थप रौनकता भरेको थियो। समारोहमा सद्भावना वरिष्ठ नागरिक मञ्च, बाल कल्याण समूह, भूतपूर्व सैनिक संगठन पचेङ शाखा ,प्रभाकर समाज, सोनादा साहित्य संस्थान, गोर्खा सांस्कृतिक संरक्षण समिति, मनबहादुर गुरुङ स्मृति प्रतिष्ठानका पदाधिकारीवर्ग, सदस्य- सदस्यागण लगायत शान्तिरानी उच्चतर माध्यमिक विद्यालय, माध्यमिक शिक्षा केन्द्र नयाँ कमान, सोनादा उच्चतर माध्यमिक विद्यालयका शिक्षक शिक्षिका एवम् विद्यार्थीहरू आफ्ना जातीय सांस्कृतिक वेषभूषामा उपस्थित रहेका थिए। विजयी प्रतियोगीहरूलाई पुरस्कार पनि प्रदान गरिएको थियो। समारोहको औचित्यलाई बुझाउँदै प्राध्यापक मेघनाथ छेत्री र प्राध्यापक पर्वत रसाइलीले सञ्चालन गरेको उक्त कार्यक्रममा प्राध्यापक अनिलकुमार विश्वकर्मले स्वागत सम्बोधन एवम् संस्कृतिको महत्व बारेमा मन्तव्य राखेका थिए। उत्सवको अवसरमा सोनादा डिग्री कलेजका पूर्व विद्यार्थी टाँसी फिन्जो मोक्तान र सुनिल राईलाई पनि सम्बर्द्धना जनाइएको थियो। टाँसी फिन्जो मोक्तान भोइस अफ् नेपालको सांगीतिक मञ्चमा पुग्न सफल बनेका थिए भने सुनिल राईले सांस्कृतिक शैलीगत हिँडाई (फेसन शो) मा विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए। होलीक्रस कन्या उच्च विद्यालयकी छात्रा आकृति गुरुङ अनि सोनादा हाई स्कूलका छात्रा कृतिशा तामाङले नृत्य प्रस्तुत गरेका थिए। समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि शान्ता छेत्रीले कलेजद्वारा सम्पन्न गरिएको जातीय सांस्कृतिक उत्सव तथा एथेनिक दिवसको प्रशंसा गरेका थिए। सोनादा डिग्री कलेजको इतिहासमा प्रथमपल्ट एथेनिक दिवसको रूपमा यस्तो जातीय सांस्कृतिक उत्सव भव्य रुपमा सम्पन्न भएको कुरो उनले बताइन्। यसरी कलेजका शिक्षक प्रभारी, शिक्षण अशिक्षणकर्मी, विद्यार्थीवर्ग सबैको आपसी सद्भावना र एकताको फलस्वरूप नै यस्तो भव्य कार्यक्रम सम्पन्न हुन सकेको कुरो जाहेर गर्दै शान्ता छेत्रीले सबैलाई बधाई र शुभकामना व्यक्त गरिन्। समारोह अध्यक्षा प्रा सुशीला बराइलीले लोक नृत्य, लोकगीत एवम् सांस्कृतिक शैलीगत हिँडाईमा भाग लिएका विद्यार्थीहरुलाई साथै विभिन्न संघ संस्थाबाट उपस्थिति दिएर उत्सवको गरिमा बढाइदिएकोमा सबैलाई धन्यवाद दिएका थिए। यस अवसरमा कलेजका एनसीसी लगायत अन्य विद्यार्थीहरूद्वारा विभिन्न प्रकारका जातीय खानपानको पनि पसलहरू सञ्चालन गरेका थिए।